नेपालमा पहिलोपटक आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट आगामी १८ जनवरीदेखि १ फेब्रुअरीसम्म हुँदै छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानीको माथिल्लो मैदानमा ग्लोबल छनोट गर्दै छ । प्रतियोगितामा विभिन्न क्षेत्रीय छनोटबाट १० राष्ट्रले प्रतिस्पर्धा गर्र्दै छन् । आइसिसीले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ । नेपाल समूह ‘बी’मा रहेको छ । नेपालले आफ्ना सबै खेल त्रिवि मैदानमा खेल्नेछ । नेपाल पहिलोपटक ग्लोबल छनोटमा पुगेको हो । प्रत्येक समूहमा तीन राष्ट्र सुपर सिक्समा पुग्नेछन् । त्यसपछि शीर्ष चार राष्ट्रले आगामी जुनमा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।
आयरल्यान्ड (वरीयता ९)
युरोपियन राष्ट्र आयरल्यान्ड सहभागीमध्ये उच्च वरीयताको राष्ट्र हो । टी–२० आईमा आयरल्यान्ड नवौँ स्थानमा छ । आइसिसीले उसलाई सन् २०२१ को अप्रिलमा स्थायी रूपमै एकदिवसीय र टेस्ट मान्यता प्रदान गरेको थियो । यद्यपि, आइसिसीको स्थायी सदस्य भएपछि आयरल्यान्डले ग्लोबल छनोट खेल्दै छ । सन् १९८७ मै आयरल्यान्डले एकदिवसीय मान्यता पाएको थियो । सन् १९८८ मा उसले पहिलोपटक महिला विश्वकप खेलेको थियो । टी–२० विश्वकपमा आयरल्यान्डले तीनपटक सहभागिता जनाइसकेको छ । यसपटक क्षेत्रीय विजेताका रूपमा आयरल्यान्डले ग्लोबल छनोटमा स्थान पक्का गरेको हो ।
बंगलादेश (वरीयता १०)
ग्लोबल छनोटमा सहभागीमध्ये बंगलादेश सबैभन्दा अनुभवी राष्ट्र हो । बंगलादेशको सिनियर महिला टोली सन् २००७ मा थाइल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेको थियो । सन् २०११ मा टोलीले एकदिवसीय मान्यता पाएको थियो । सन् २०११ को महिला एकदिवसीय विश्वकप र सन् २०१४ को टी–२० विश्वकप बंगलादेशले खेलेको थियो । अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को प्राप्त सफलतापछि बंगलादेशले स्थायी रूपमै टेस्ट तथा एकदिवसीय मान्यता हात पारेको थियो । आइसिसी महिला विश्वकप प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका कारण बंगलादेश सिधै ग्लोबल छनोटमा पुगेको हो ।
स्कटल्यान्ड (वरीयता ११औँ)
गत वर्ष आइसिसी टी–२० महिला विश्वकपको समूह चरणमा उत्कृष्ट खेल प्रदर्शन गरेका कारण नै स्कटल्यान्डले सिधै ग्लोबल छनोटमा स्थान बनाएको हो । सन् १९९४ मा स्कटल्यान्ड आइसिसीको सदस्य बनेको थियो । स्कटल्यान्डले अहिलेसम्म टी–२० महिला विश्वकपको ग्लोबल छनोटमा चारपटक सहभागिता जनाएको छ । गत वर्षको विश्वकपमा स्कटल्यान्डले चार खेल खेल्यो । स्कटल्यान्डले सन् २०१८ को छनोट संस्करणमा तेस्रो स्थान रक्षा गरेको थियो । अहिलेसम्म उसले ७३ टी–२० आईमा ४३ जित र २९ हारको सामना गरेको छ । यस वर्ष स्कटल्यान्डले १० मध्ये आठ खेलमा जित र दुईमा हार व्यहोरेको छ ।
थाइल्यान्ड (वरीयता १२औँ)
अर्को सातादेखि सुरु हुने ग्लोबल छनोटमा सहभागीमध्ये एकपटक विश्वकप खेलेखेका राष्ट्र थाइल्यान्ड हो । सन् २०२० को विश्वकपमा आश्चर्यजनक रूपमा थाइल्यान्डले स्थान बनाएको थियो । पहिलो विश्वकप यात्रामा थाइल्यान्डले फितलो प्रदर्शन गरेको थियो । थाइल्यान्डले अहिलेसम्म पाँचपटक विश्वकप ग्लोबल छनोटमा स्थान बनाएको छ । सन् २०१९ मा ग्लोबल छनोटमा दोस्रो स्थान रक्षा गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको थाइल्यान्डले १२३ टी–२० आई खेलेको छ । जसमा ८३ जित र ३८ हार सामना गरेको छ । थाइल्यान्डले सन् २०१८ मा पाकिस्तानविरुद्ध पहिलो टी–२० आई खेलेको थियो ।
पपुवा न्युगिनी (वरीयता १३औँ )
सन् १९७३ मै पपुवा न्युगिनीले आइसिसीको एसोसिएट राष्ट्रको मान्यता पाइसकेको थियो । पपुवा न्युगिनीले इस्ट एसिया प्यासिफिक क्षेत्रको प्रतिनिधित्व गर्दै ग्लोबल छनोटमा स्थान बनाएको हो । सन् २०१८ मा पपुवा न्युगिनीले बंगलादेशविरुद्ध पहिलो टी–२० आई खेलेको थियो । सन् २०२४ मा उसले जिम्बावेविरुद्ध पहिलो एकदिवसीय खेल खेल्यो । इस्ट एसिया प्यासिफिक छनोटमा शीर्ष स्थानमा रहँदै पपुवा न्युगिनीले ग्लोबल छनोट स्थान रक्षा गरेको हो । अहिलेसम्म पपुवा न्युगिनीले ७२ टी–२० आई खेल्दा ४९ जित तथा २० खेलमा हारको सामना गरेको छ । पपुवा न्युगिनीले यसअघि तीनपटक ग्लोबल छनोटमा स्थान पक्का गरेको थियो ।
नेदरल्यान्ड्स (वरीयता १४औँ)
सन् २००८ मै नेदरल्यान्ड्सले आइसिसीको टेस्ट मान्यता प्राप्त गरेको थियो । नेदरल्यान्ड्सले अहिले ९९ टी–२० आई खेलेको छ । ४६ जित र ४७ हार नतिजा निकालेको नेदरल्यान्ड्सले तीनपटक आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटमा स्थान बनाएको थियो । पछिल्लो ग्लोबल छनोटमा नेदरल्यान्ड्सले चौथो स्थान रक्षा गरेको थियो । उसले सन् २००८ मा पहिलोपटक वेस्ट इन्डिजसँग टी–२० आई खेलेको थियो । ६० वर्ष लामो इतिहास बोकेको नेदरल्यान्ड्सले सन् १९९६ मै आइसिसीको एसोसिएट राष्ट्रको मान्यता पाएको थियो । सन् १९८४ मा नेदरल्यान्ड्सले न्युजिल्यान्डविरुद्ध अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेको थियो ।
जिम्बावे (वरीयता १५औँ)
जिम्बावेले सन् १९९२ मा आइसिसीको पूर्णकालीन सदस्यता हात पारेको थियो । यसअघि सन् १९८१ मा आइसिसीले उसलाई एसोसिएट राष्ट्रको मान्यता दिएको थियो । जिम्बावेले सन् २००६ मा अन्तर्राष्ट्रिय डेब्यु गरेको थियो । जिम्बावेले अहिलेसम्म तीनपटक ग्लोबल छनोटमा स्थान बनाएको छ । सन् २००८ मा जिम्बावे ग्लोबल छनोटको पाँचौँ स्थानमा रहेको थियो । सन् २०१५ को छनोटमा थोरै रनरेटले पछि पर्दा जिम्बावेले विश्वकप गुमाएको थियो । जिम्बावेले अहिलेसम्म ८२ टी–२० आईमा ५५ जित र २६ हार सामना गरेको छ ।
नामिबिया (वरीयता १८औँ)
गत वर्ष अफ्रिकी क्षेत्रीय छनोटमा शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा स्थान पक्का गरेको हो । अफ्रिकी छनोटमा नामिबियाले जिम्बावेलाई समेत निराश बनाएको थियो । सन् १९९२ मा नामिबियाले आइसिसीको एसोसिएट मान्यता पाएको थियो । सन् २००४ मा नामिबियाले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेको थियो । सन् २०१८ मा आइसिसीले उसलाई पूर्णकालीन सदस्यका रूपमा टी–२० मान्यता दिएको थियो । सन् २०१८ मा नामिबियाले पहिलो टी–२० आई खेलेको थियो । उसको पहिलो टी–२० आई खेल नै मालावीविरुद्ध थियो । अहिलेसम्म उसले ११३ टी–२० आई खेल्दा ६२ जित र ५० हारको सामना गरेको छ । नामिबियाको यो दोस्रो ग्लोबल छनोट यात्रा हो ।
नेपाल (वरीयता २१औँ)
आयोजक नेपालले समूह ‘बी’ युरोपियन तथा अफ्रिकाका बलिया राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्दै छ । सन् १९९६ मा नेपाल आइसिसीको एसोसिएट राष्ट्र बनेको थियो । सन् २०१८ मा नेपाली महिला टोलीले पहिलोपटक टी–२० आईमा डेब्यु गरेको थियो । नेपालको पहिलो टी–२० आई खेल नै चीनविरुद्ध थियो । सन् २०२९ मा नेपालले थाइल्यान्ड टी–२० सिरिज खेलेको थियो । नेपालले अहिलेसम्म ८० टी–२० आई खेलेको छ । जसमा नेपालले ४७ खेलमा जित र ३२ मा हारको सामना गरेको छ । नेपालले एसियन छनोटमा दोस्रो स्थान रक्षा गरी पहिलोपटक ग्लोबल छनोट बनाएको थियो ।
अमेरिका (वरीयता २५औँ)
अमेरिकाले सन् १९६५ मा आइसिसीको एसोसिएट राष्ट्रको मान्यता प्राप्त गरेको थियो । अमेरिकी क्षेत्रीय विजेताका रूपमा अमेरिकाले ग्लोबल छनोट स्थान सुरक्षित गरेको हो । सन् २००९ मा अमेरिकाले ब्राजिलविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो । अमेरिकाले अहिलेसम्म दुईपटक टी–२० महिला विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गरेको छ । सन् २०१९ मा उसले क्यानडाविरुद्ध पहिलो टी–२० आई खेलेको थियो । अहिलेसम्म अमेरिकाले ४५ टी–२० आई खेलेको छ । जसमा अमेरिकाले २२ जित र २३ खेलमा हारको सामना गरेको छ । अहिले अमेरिकी टोलीका धेरैजसो खेलाडीलाई वेस्ट इन्डिजका पूर्वखेलाडी शिवनारायण चन्द्रपाउलबाट प्रशिक्षण दिएको छ ।