मित्रराष्ट्र चीनसँग सिमाना गाँसिएको भोटेकोसी गाउँपालिकामा कलिला बालबालिकालाई न्यानो कपडा वितरण गरिने भएको छ। चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट नामक चिनियाँ संस्थाको आर्थिक सहयोगमा लामो समयदेखि शिक्षा र स्वास्थ्यमा काम गर्दै आएको ग्लोबल कोअपरेसन फर डेभलपमेन्टले पालिकाभरका बालबालिकालाई जाडो कटाउने न्यानो कपडा दिनलागेको हो।
झिर्पु माध्यमिक विद्यालय हिन्दीका पूर्वअध्यक्ष आङ्छिरी शेर्पाले दिएको जानकारीअनुसार चिनियाँ संस्थाको आर्थिक सहयोगमा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधि भोटेकोसी पुगेर कपडा वितरण गरिने कार्यक्रम छ। चाइना फाउन्डेसन र ग्लोबल कोअपरेसनको टिम न्यानो कपडा बोकेर शनिबार भोटेकोसी पुगेको छ।
भोटेकोसी गाउँपालिकाभित्र रहेका २९ विद्यालयमा अध्ययनरत एकदेखि पाँच कक्षासम्मका एक हजार एक सय ७० बालबालिकालाई न्यानो कपडा वितरण गरिने शेर्पाले जानकारी दिए । पालिकाको सबै विद्यालयमा पुगेर बालबालिकालाई प्रत्यक्ष रुपमा कपडा दिने फाउन्डेसनको कार्यक्रम छ।
प्रत्येक विद्यार्थीले चिनियाँ झोलामा प्याक गरिएको न्यानो ट्रयाक सुट, मोजा, गलबन्दी, पञ्जा र ऊनको टोपी पाउनेछन्। शनिबार र आइतबार विद्यालयमा कपडा पुर्याउने र सोमबार पालिका प्रमुख पासाङ नोर्पु शेर्पाको उपस्थितिमा ओैपचारिक कार्यक्रम गरेर कपडा वितरण गरिनेछ । ग्लोबल कोअपरेसन फर डेभलपमेन्टका प्रमुख मुक्ति मरासिनीले कार्यक्रममा नेपालस्थित चिनियाँ राजदूतावासको प्रतिनिधि पनि पुग्ने जानकारी दिए । ‘हामीले भोटेकासी गाउँपालिकाभरका कक्षा एकदेखि पाँचसम्मका बालबालिकालाई न्यानो कपडाका लागि टेन्डर गरेका थियौँ । जुन एकसेटको ढुवानीबाहेक २२ सय ३२ रुपैयाँ परेको छ,’ उनले भने ।
हिमाली भेगका बालबालिकालाई न्यानो कपडा दिएर चाइना फाउन्डेसनले पुण्य काम गरेको पालिका अध्यक्ष शेर्पाले बताए । ‘नेपाल–चीन सम्बन्ध गहिरो रहेको बताउँदै उनले भने, ‘हामी सीमामा बस्ने नागरिकलाई चीन सरकारले बेलाबेलामा सहयोग गरेर गुन लगाएको छ ।’ तर, प्रत्यक्ष रुपमा चिनियाँ संस्था सीमामा आएर ग्रामीण भूगोलका नागरिकलाई सहयोग गरेको यो पहिलोपटक हो ।
बिगतमा चीनको न्यालम र सिँगात्से सरकारले भोटेकोसी गाउँपालिकालाई विभिन्न सहयोग गरेको थियो । चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्टले नेपालका तराई , पहाड र केही हिमाली जिल्लामा कृषि, शिक्षा र जनजीविकासँग सम्बन्धित विकासका काम गर्दै आएको छ । झिर्पु माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर्पा र प्रधानाध्यापक टंक पन्तले चिनियाँ संस्थासँग केही वर्षदेखि सम्बन्ध बढाएका थिए । त्यही सम्बन्ध पहिल्याउँदै चाइना फाउन्डेसन गाउँपालिका अध्यक्षको सम्पर्कमा पुगेको हो।
केही वर्षयता साेवरस एक्सन नेपाल हङकङ कोदारी र झिर्पु माविमा चिनियाँ भाषा कक्षा सञ्चालन भइरहेका छन् । यही वर्षबाट धनेश्वरी मावि चाकुमा लुम्बिनी विश्वविद्यालयको सहयोगमा भोटेकोसी गाउँपालिकाले चिनियाँ भाषाको ब्याचलर कक्षा सञ्चालन गरेको छ । हाल भोटेकोसीका नौजना विद्यार्थी उच्चशिक्षाका लागि छात्रवृत्तिमा चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत छन् ।