सल्यानमा शुक्रबारबाट दोस्रो प्रादेशिक कृषि, वन, पशु, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महोत्सव २०८२ सुरु भएको छ। कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले महोत्सवको सल्यान श्रीनगरमा उद्घाटन गरेका हुन्। महोत्सवको पहिलो दिन सल्यानका विभिन्न मौलिक नाचहरु पैसेरु, पञ्चेबाजा, मयुर नाचलगायतको झाँकी श्रीनगर बजार परिक्रम गरिएको थियो।
‘कृषि, पशु, वन, उद्योग, व्यापार तथा पर्यटन विकासको परिकल्पना व्यवसायीकरणद्वारा आर्थिक उन्नति गर्दै समृद्ध समाजको स्थापना’ भन्ने मूल नारा रहेको छ। महोत्सवमा ७७ लाख रुपैयाँ कारोबार हुने अपेक्षा गरिएको छ। साढे १२ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ । एकसय ३० वटा स्टल रहने महोत्सवमा एक सयवटा व्यापारिक स्टल र बाँकी ३० वटा स्टल कृषि, उद्यम, पर्यटनसँग सम्बन्धित स्टल रहनेछन्।
कृषकहरूका लागि निःशुल्क स्टलको व्यवस्था गरिएको छ भने उत्कृष्ट कृषक तथा उद्यमीलाई कृषि विकास कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयसँगको समन्वयमा सम्मान तथा पुरस्कृत गरिने बताइएको छ। परिचयपत्रका आधारमा विद्यार्थीलाई ३० प्रतिशत र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटमा महोत्सव प्रवेशको व्यवस्था गरिएको छ।