पुस्तकालयविद् इन्दिरा दली भन्छिन्– पुस्तकालयको काम समुदायलाई सामाजिकीकरण गर्ने पनि हो
उमेरले आठ दशक छुनै लाग्यो । कपाल सेताम्मे फुल्यो । अनेक रोगले डेरा जमाउन थाल्यो । तर, पुस्तकालयविद् इन्दिरा दलीको सक्रियतामा उति भिन्नता आएको छैन । उनको बुबाले पुस्तक र पुस्तकालयसँग सम्बन्ध सानैदेखि जोडिदिए । घरभरि पुस्तकका चाङ राखेर पुस्तकालयको अनुहार देखाइदिए । हो, त्यही दिनले उनलाई पुस्तक र पुस्तकालयप्रति रुचि जाग्यो ।
काठमाडौंको यंगालमा जन्मिएका उनका बुबा शिक्षक थिए । अंग्रेजी, गणित, विज्ञान पढाउँथे । उनका बुबाले जम्मा गरेको पुस्तकले घरका छ–सातवटा दराज भरिएको थियो । करिब दुई सय वर्षअघि लेखिएको जर्मन कथा संग्रह ‘ह्यान्सेल एन्ड ग्रेटेल’ उनको बालसुलभले भेउ नपाउँदै सुनिन् । करिब पाँच सय वर्ष पुरानो फ्रान्सेली लोककथा ‘सिन्द्रेला’ पनि उनले उतिवेलै सुनिन् । ती सबै पुस्तकका अंश उनलाई उनको बुबाले नै सुनाए । यस्ता धेरै बाल पुस्तक उनले सानैमा सुन्न पाइन् । पढ्न पाइन् । पुस्तक विद्यालय तहमै उनका बुबाले पुरस्कारस्वरूप प्राप्त गरेका थिए । कतिपय किनेर संकलन गरेका थिए । उनले ती पुस्तक अझै केआइडी कलेक्सन (कासिलाल इन्दिरा दली)भनेर संकलन गरेर राखेकी छिन् । जुन आजसम्म इन्दिरासँग छ ।
‘तीन चार वर्षको बच्चालाई ज्ञानको क्षेत्र कति हुन्छ भन्ने जानकारी हुन्न । त्यही वेला मैले हरेक दिनजसो म केही काम नगर्ने, जिन्दगीभर पढिरहने, संसारभरको कुरा पढ्ने, संसारको सबैभन्दा विद्वान् बन्ने भनेर बुबालाई भन्थेँ । बुबाले पनि जति मन लाग्छ पढ् भन्नुहुन्थ्यो,’ उनले भनिन् । यति धेरै माया गर्ने बुबाले पाँचैजना छोरी जन्मिएपछि एक महिनाको छोरी र सुत्केरी श्रीमती छाडेर अर्की श्रीमती लिएर थैंटीको घरमा बस्न थाले । आफूलाई त्यति धेरै माया गर्ने बुबाले एक्कासि नयाँ परिवार जोडे । उनको परिवारलाई छोडे । तर, उनले पुस्तकमोह भने छाडिनन् ।
एक दिनको शिक्षक पारिजात
सानैदेखि पुस्तकसँग हुर्किएको उनको पुस्तक रुचिकै कारण क्षणभरमै पारितजातको प्रिय विद्यार्थी भएकी थिइन् । उनले लेखेको पुस्तकको निबन्धबाट प्रभावित भएर पारिजातले मदन स्मारक माध्यमिक विद्यालयमा सहज रूपमा भर्ना गराएकी थिइन् । ‘मैले लेखेको किताब शीर्षकको निबन्ध मन परेर पारिजात मिसले जसोदा तिमीले गुहेश्वरीको छोरीको म्याथको जाँच लिनुपर्दैन । यो केटीलाई छोड्नुहुँदैन भनेर भर्ना गरिदिनुभएको थियो । त्यो दिनदेखि मिस बिरामीको बिरामी पर्नुभयो । फर्केर स्कुल आउन सक्नुभएन । पारिजात मेरो एकदिनको मिस हो,’ दलीले भनिन् । एसएलसीपछि उनले त्रिचन्द्र क्याम्पसमा आइएस्सी पास गरिन् । त्यसपछि उनले अर्थशास्त्रमा स्नातकोत्तर गरिन् । जनप्रशासनमा स्नातक गरिन् । कानुन पनि पढिन् । त्रिभुवन विमानस्थलको मौसम पूर्वानुमान महाशाखामा काम गरिन् । पुस्तक प्रेमका कारण पढ्न भने छोडिनन् । अमेरिकन, रसियन, नेपाल–भारत पुस्तकालय, ब्रिटिस काउन्सिल पढ्नकै लागि गइन् । रसियन लेखक निकोलाई ओस्त्रोब्स्कीको पुस्तक ‘हाउ द स्टिल वाज टेम्पर’ उपन्यास कापीमै सारेर पढिन् । एसियाका पहिलो नोबेल पुरस्कार विजेता रवीन्द्रनाथ टैगोरको ‘गीताञ्जली’ पटक–पटक पढिन् ।
पुस्तकालय यात्रा
त्रिभुवन विमानस्थलको मौसम पूर्वानुमान महाशाखामा उनी घामपानी, हावा नाप्दै थिइन् । घामपानी, हावासँगै अर्थशास्त्रमा पिएचडी तयारी पनि गर्दै थिइन् । पिएचडी गर्ने क्रममा उनलाई अलि धेरै पढ्नुपर्ने, अनुसन्धान गर्नुपर्ने भयो । यसका लागि पुस्तकालय अभाव बनेर खट्कियो । त्यो वेलाको समयमा उनीसँग उच्च शिक्षा हासिल गरेको प्रमाणपत्र थियो । विकल्प पनि धेरै नै थिए । तर, आठ वर्ष लामो सरकारी जागिर छाडेर त्रिभुवन विश्वविद्यालयमा जागिरका लागि आवेदन दिइन् । ‘पिएचडीको तयारीमा थिएँ, गाइड एकातिर, जागिर अर्कातिर, अनि लाइब्रेरी अर्कातिर । साह्रै समस्या भयो । त्यसपछि घाम कति, हुरी कति भनेर हेरिरहेको मान्छे त्रिवितिर लागेँ,’ उनले भनिन् ।
नाम त निस्कियो, तर उनले सोचेजस्तो सजिलो भएन । उनलाई त्रिविअन्तर्गतका अन्य क्याम्पस जानुपर्ने भयो । पुस्तकालयनजिक काम गर्न पाइन्छ ठानेर आवेदन दिएकी इन्दिराले अन्यत्र जानुपर्ने भएपछि नियुक्तिपत्रै लिइनन् । त्यसको १५ दिनमा उनलाई मानविकी संकायका डिन उपेन्द्रमान मल्लले भेट्न बोलाए । मल्लसामु इन्दिराले आफ्नो रुचि खुलस्त राखिन् । त्यसपछि उनलाई पद्मकन्या क्याम्पसको लाइब्रेरियन भएर बस्न भनियो । उनी त्रिविले दिएको ४५ दिनको तालिममा सहभागी भइन् । पद्मकन्या क्याम्पसमा लाइब्रेरियन भएर काम सुरु गरिन् । ०३२ सालमा हावापानीको नाप लिइरहेकी उनको यात्रा मोडिएर लाईब्रेरियनमा रुपान्तरण भयो ।
पद्मकन्या पुस्तकालयमा त्यति वेला किताबका चाङ अहिलेभन्दा धेरै भएको इन्दिरा सम्झन्छिन् । ती सबै किताब व्यवस्थापन गर्न इन्दिरालाई सुरुमा अप्ठ्यारो पनि भयो ।
यति धेरै पढेको मान्छे लाइब्रेरीमा बस्ने हो भनेर उनलाई हतोत्साही पनि गर्थे । अन्तै काम गर वा क्याम्पस पढाऊ भनेर दबाबसमेत दिइरहन्थे । ‘लाइब्रेरीमा बस्ने मान्छे कम पढेको र केही नजानेको हुन्छ भन्ने जब्बर मानसिकता थियो । अरूले जति बेवास्ता गर्थे, ममा पुस्तकालय सम्मानित क्षेत्र हो भनेर देखाउने तत्परता उति बढ्थ्यो,’ उनले भनिन् ।
पद्मकन्यापछि उनको पुस्तकालय यात्रा मीनभवनस्थित नेपाल कमर्स क्याम्पससँग जोडियो । उनलाई त्यहाँको पुस्तकालयबारे एक सातामा रिपोर्ट बनाउन भनियो । पद्मकन्याको अनुभव छँदै थियो । उनले भोलिपल्टै रिपार्ट बुझाइन् । र, पुस्तकालय प्रमुख भएर काम सुरु गरिन् ।
यी दुइटा क्याम्पसको अनुभवपछि इन्दिरा पिएचडी अध्ययन बिचमै छाडेर पुस्तकालय विज्ञान पढ्न भारत गइन् । उनलाई अझै याद छ, पिएचडी छाडेर पुस्तकालय विज्ञान नपढ्नू भनेर धेरैले सम्झाएका थिए । यसमा भविष्य छैन भन्दै तर्साएका थिए । उनी भने तर्सिनुको सट्टा दृढ भइन् । सन् १९९७/९८ मा भारतबाट ‘लाइब्रेरी एन्ड इन्फर्मेसन साइन्स’मा स्नातकोत्तरमा उच्च अंक हासिल गरेर पास गर्न सफल भइन् । त्यसपछि उनको यात्रा त्रिवि केन्द्रीय पुस्तकालतर्फ भयो ।
बाल पुस्तकालय बनाउने प्रण
त्रिविको पुस्तकालयमा काम गर्ने सिलसिलामै उनलाई जापान जाने अवसर मिल्यो । उनको मिहिनेत, इमानदारिता र पुस्तकालयप्रतिको लगावले उनलाई जापानमा नौ महिना एड्भान्स तालिम लिने अवसर प्राप्त भएको थियो । जापानमा रहने क्रममा ६ हप्ता भाषा पढेपछि उनले विभिन्न सहरका पुस्तकालयमा घुम्ने अवसर पाइन् । मोबाइल पुस्तकालयमा काम गर्ने अवसर पनि पाइन् । मोबाइल पुस्तकालयमा दिन बिराएर प्रत्येक दिशामा भ्यानमा किताब हालेर लगिन्थ्यो । प्रत्येक स्टपमा साइरन बजाएपछि मान्छे आउँथे । अघिल्लो हप्ता लिएको किताब फर्काउँथे । र, नयाँ किताब लिएर जान्थे ।
त्यहाँ भएको एउटा घटनाले भने उनलाई नराम्ररी झस्कायो । र, नेपालमा बाल पुस्तकालय बनाउन प्रण गर्न बाध्य पार्यो । ‘मोबाइल लाइब्रेरीमा काम गर्ने क्रममा एकपटक एउटा ठाउँमा जाँदा भयंकर आँधी, चट्याङ, पानी परिरहेको थियो । भ्यानबाट किताबको र्याक बाहिर लैजान सक्ने अवस्था थिएन । त्यहाँका महिला अघिल्लोपटक लगेको किताब फर्काउँदै नयाँ लिन गइरहेका थिए,’ उनले त्यो घटना सम्झिँदै भनिन्, ‘एकजना महिलासँग साढे दुई वर्षजतिको बालिका पनि आएकी थिइन् । उनको आमालाई किताब लिएर घर जान हतार भएको थियो । त्यहीँ बाल पुस्तक पनि थिए । तर, ती बालिकालाई आँधीहुरीसँग मतलब भएन । अर्को किताब चाहियो भनेर झगडा गरिरहेकी थिइन् । अनि, त्यहाँ मेरो दिमागमा के घुस्यो भने बच्चैदेखि पुस्तक पढ्ने बानी विकास गर्नुपर्छ ।’ ती बालिकाको नाम साया थियो । सायाकै अगाडि उनले मनमनै नेपाल फर्केर बाल पुस्तकालय खोल्ने प्रण गरिन् ।
नेपाल फर्केपछि उनले ०६७ सालमा नवजीवन आमा समूहसँग मिलेर सानेपामा पुस्तकालय खोलिन् । आफ्नै गोजीबाट सकेसम्म धेरै पैसा हालिन् । त्यो पुस्तकालय सानेपा, बल्खुआसपास मजदुरी गरेर गुजारा चलाउनेका छोराछोरीका लागि महत्वपूर्ण गन्तव्य बन्यो । त्यो क्षेत्रका बालबालिकाले गृहकार्य गर्ने, मनोरञ्जन गर्ने, ज्ञान आर्जन गर्ने थलो भयो । विडम्बना, स्रोतअभावका कारण पुस्तकालयको आयु छिटै सकियो ।
पुस्तकालय गुरुयोजना
पुस्तकालयमै काम गर्दागर्दै उनी ०४२ सालमा सेन्टर फर इकोनोमिक्स डेभलपमेन्ट एन्ड एडमिनिस्ट्रेसन (सेडा)मा पुगिन् । त्यति नै वेला साउथ एसियन एसोसियन फर रिजनल को–अपरेसन (सार्क) स्थापना हुनुभन्दा अघि भुटानबाहेक सार्क राष्ट्रले नै रिसर्च संस्था खोलेको थियो । त्यसको अनुसन्धान गर्न पुस्तकालय विकास गर्नुपर्यो । त्यो संस्थाले सन् १९८५ मा डेभलपमेन्ट इन्फर्मेसन नेटवर्क फर साउथ एसिया (डेभिन्सा) नामक संस्था खोल्यो । नेपालबाट सेडा फोकल पोइन्ट भयो । १९८६ देखि १९९३ सम्म डेभिन्साले काम गर्यो । नीतिगत निर्णय हुने हरेक वर्षको बैठकमा श्रीलंकामा सहभागी भएर उनले काम गरिन् । सेडाबाटै उनले सह–लाइबे्ररियन भएर अवकाश पाइन् । अवकाशपछि पनि पुस्तक र पुस्तकालयमा काम गर्न छाडिनन् । भूकम्पले भत्काएको राष्ट्रिय पुस्तकालयको पुस्तक व्यवस्थापनदेखि पुस्तकालय गुरुयोजना बनाउनेसम्मका काम उनले गरिन् ।
आठ वर्षअघि बनेको दशवर्षे पुस्तकालय गुरुयोजना अहिले पनि अलपत्र छ । राष्ट्रिय पुस्तकालय बनाउने काम कत्ति पनि अगाडि बढ्न सकेको छैन । तर, उनको टोलीले बनाएको गुरुयोजना कम्ती महत्वपूर्ण छैन । बल्लतल्ल बनेको यो नीति कार्यान्वयनमा आउन अझै कति समय लाग्ने हो टुंगो छैन । यो नीति बनाउन इन्दिराले कम्ता दौडधुप गरेकी छैनन् । आफ्नै संयोजकत्वमा गुरुयोजना तयार पार्दा संसारभरका पुस्तकालयबारे अध्ययन गरेको उनी बताउँछिन् ।
गुरुयोजनामा केन्द्रीय पुस्तकालयका अतिरिक्त सातवटै प्रदेश, जिल्ला, पालिका, वडा र गाउँस्तरमा पुस्तकालय निर्माण गर्न प्रस्ताव गरिएको छ । कार्यान्वयन हुने हो भने संघ र प्रदेश सरकारले मात्र होइन, देशभरका स्थानीय सरकारले आ–आफ्ना क्षेत्रमा पुस्तकालय स्थापना गर्नुपर्नेछ । अझ त्योभन्दा तल प्रत्येक वडामा कम्तीमा एउटा पुस्तकालय परिकल्पना गरिएको छ । स्कुल, कलेज र विश्वविद्यालयमा अनिवार्य पुस्तकालयको व्यवस्था छँदै छ ।
पुस्तकालयको महत्व
पुस्तकालयको महत्व अझै नेपालीले बुझ्न नसकेको उनको गुनासो छ । त्योभन्दा चर्को गुनासो नेपाली समुदायमाथि छ । ‘पुस्तकालयको महत्व बुझेको भए ७२ सालमा राष्ट्रिय पुस्तकालय भत्काएर दुई–तीन वर्षसम्म महेन्द्र भवन विद्यालयमा थन्क्याएका किताब किरा परेर बल्लबल्ल अहिले सानोठिमी लगी प्रिफ्याबमा राखेको छ । आजसम्म राष्ट्रिय पुस्तकालय किन बनेन ? मेरो प्रश्न यही हो,’ उनले भनिन्, ‘म सरकारलाई मात्र दोष दिन्नँ । समुदायको पनि दोष छ । समुदायले माग गरे पो सरकार तात्छ । समुदाय उठेको खोइ ?’
केही सहयोग भए पनि नीतिगत त्रुटिका कारण काम गर्न निकै असहज अवस्था भएको उनी तर्क गर्छिन् । ‘म आफँैले नवजीवन आमासँग मिलेर पुस्तकालय खोलेँ । शिक्षा मन्त्रालयले केही सहयोग गर्यो । ललितपुर महानगरले एक लाख दियो । तर, त्यो पैसाले डेराभाडा तिर्न पनि नपाउने, कर्मचारी राख्न पनि नपाउने, किताब, कम्प्युटर किन्न मात्र पाइने । पुस्तकालयको महत्व बुझेको भए त्यस्तो हुन्थ्यो ?,’ उनले प्रश्न गरिन् ।
डिजिटल दुनियाँमा सबै कुराको उपलब्धता नहुने भन्दै उनी आदिवासी ज्ञान, सीप, समाज, सम्बन्ध बुझ्न पुस्तकालयजति महत्वपूर्ण ठाउँ अन्त नहुने मत राख्छिन् । ‘आदिवासी ज्ञान, प्रविधि, संस्कृति डिजिटल दुनियाँमा उपलब्ध छैन । त्यसैले हामीलाई भौतिक पुस्तकालय नै आवश्यक छ,’ उनले भनिन्, ‘भौतिक पुस्तकालयको काम किताब मात्र जम्मा गर्ने होइन, समुदायलाई सहभागी गराउने, समुदायको प्रकृतिअनुसार विभिन्न कार्यक्रम गर्ने, सामाजिकीकरण गर्ने, सामाजिक सद्भाव विकास गर्ने हो ।’ उनका अनुसार समाज झन्–झन् व्यक्तिवादी भयो । सामाजिक सम्बन्ध हरायो । मानवीय सम्बन्ध हरायो । भौतिक पुस्तकालय जाने संस्कृतिको विकास भयो भने यी सारा समस्या हल हुन्छन् । त्यहाँ एक–अर्कोमा धेरै कुरा साटासाट हुन्छ । त्यसैले, भौतिक पुस्तकालय आवश्यक छ ।