- केन्द्रीय कमिटी बैठकमा उम्मेदवार छनोट, घोषणापत्र तयारी र चुनावी परिचालनलगायत महत्वपूर्ण विषयमा निर्णय हुने
जेन–जी आन्दोलनपछि बनेको सरकारको संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै निर्वाचनमा जान आनाकानी गरेको विघटित प्रतिनिधिसभाको दोस्रो ठुलो दल एमाले अब पूर्ण रूपमा आगामी २१ फागुनको चुनावी तयारीमा होमिने भएको छ । त्यसका लागि उम्मेदवार छनोट, घोषणापत्र तयारी र चुनावी परिचालनलगायत महत्वपूर्ण विषयमा निर्णय गर्न एमालेले शनिबार केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।
केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक ललितपुरको जावलाखेल एकान्तकुनास्थित मेजिस्टिक ग्रान्डमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठकमा निर्वाचनकेन्द्रित एजेन्डामा छलफल गरी आवश्यक निर्णय गरेपछि पार्टी चुनावी परिचालनमा जाने उनले बताए ।
‘हामी तयारी अवस्थामै छौँ । केन्द्रीय कमिटी बैठकबाट आन्तरिक संगठनलाई अझ मजबुत बनाउँदै चुनावको पूर्ण तयारीमा लाग्छौँ,’ अधिकारीले नयाँ पत्रिकासँग भने, ‘बैठकमा अध्यक्षको समसामयिक सम्बोधनसहित केन्द्रीय सचिवालयले गरेका निर्वाचनकेन्द्रित निर्णयलगायत महत्वपूर्ण एजेन्डामा छलफल हुनेछ ।’
४ पुसमा सम्पन्न एघारौँ राष्ट्रिय महाधिवेशनपछि एमालेको केन्द्रीय कमिटी दोस्रोपटक बस्न लागेको हो । यसअघि २२ पुसमा बसेको केन्द्रीय सचिवालय बैठकले निर्वाचनलाई लक्षित गर्दै पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको अस्थायी कार्यविभाजन गरेको थियो । निर्वाचनमा केन्द्रीय सदस्यहरूले खेलेको भूमिका र कार्यसम्पादनको मूल्यांकनपछि मात्र स्थायी कार्यविभाजन गरिने उपमहासचिव लेखराज भट्टले बताए ।
केन्द्रीय कमिटी बैठक सकिएपछि २ माघमा निर्वाचन अभियानको सुरुवात र प्रदेश कमिटी घोषणा कार्यक्रम आयोजना गर्ने एमालेको तयारी छ ।
शुक्रबार महासचिव शंकर पोखरेलले जनसंगठनका नेताहरूसँग बैठक गरी चुनावी परिचालनको योजना बनाएर तयारीमा जुट्न निर्देशन दिएका छन् । अध्यक्ष केपी ओलीले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग करिब तीन घण्टा लामो एक्लाएक्लै छलफल गरी सुरक्षाको वातावरण अनुकूल रहेकाले पार्टी निर्वाचनमा होमिन निश्चित भएको जानकारी गराएका छन् ।
आयोगको कार्यतालिकाअनुसार ६ माघमा प्रत्यक्षतर्फका उम्मेदवार छनोट गर्ने प्रक्रिया सुरु हुँदै छ । त्यहीअनुसार एमालेले प्रत्यक्ष उम्मेदवार टुंग्याउने, घोषणापत्रको मस्यौदा तयार पार्नेलगायत गृहकार्य अघि बढाएको छ । एक पदाधिकारीका अनुसार केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोटको जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिने सम्भावना रहेको छ ।