बागमती प्रदेश सभा सदस्य कुन्दन काफ्लेले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।
बागमती प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका काफ्ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिने तयारीमा रहेका हुन् ।
काफ्ले ०७९ सालको प्रदेश सभा निर्वाचनमा दोलखा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका थिए ।
नयाँ पत्रिकासँग कुरा गर्दै उनले संघीय संसदमा दोलखाली जनताको प्रतिनिधित्व गर्ने उद्देश्यले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिन मनसाय बनाएको स्पष्ट पारे । ‘मैले राजीनामा दिने मनस्थिति बनाइसकेको छु । जिल्लाका साथीहरूसँग पनि सल्लाह भइसकेको छ,’ काफ्लेले भने, ‘पार्टीभित्र सबै कुरा मिलेसँगै औपचारिक रूपमा राजीनामा दिनेछु ।’
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा सार्वजनिक पदमा बहाल रहेका व्यक्तिलाई सिफारिस नगर्ने पार्टीको कार्यविधि रहे पनि उनको नाम दोलखाबाट उम्मेदवारका रूपमा सिफारिस भइसकेको छ । यसबारे उनले दोलखाली जनताको चाहनाअनुसार नै आफ्नो नाम सिफारिस भएको दाबी गरे । ‘आगामी निर्वाचनबाट संघीय संसदमा दोलखाको नेतृत्व मैले गरिदिओस् भन्ने जनताको चाहना छ,’ उनले भने, ‘जनताको चाहनालाई कसैले रोक्न सक्दैन ।’
दोलखाको समग्र विकासका लागि संघीय सरकारको भूमिका निर्णायक हुने आफूले बुझेको उल्लेख गर्दै काफ्लेले सोही बुझाइका आधारमा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।