कम्पनीको कागजात दुरुपयोग गरी इसेवामार्फत कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कीर्तिपुर नगरपालिका– ७ बस्ने १९ वर्षीय क्रमिक उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।
वाइड स्पेस इन्टरनेसनल प्रालिका नाममा आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बरलगायतका कागजातहरूको दुरुपयोग गरी उनले इसेवा मर्चेन्ट वालेट र इसेवा वालेट खोली गैरकानुनी रूपमा आर्थिक कारोबार गरेका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा इसेवा मर्चेन्ट आइडीबाट ५६ लाख ३३ हजार ६ हजार ३७६ रुपैयाँ र इसेवा वालेटबाट ५६ लाख ३१ हजार ६०३ रुपैयाँ ७६ पैसाबराबरको कारोबार गरेको खुल्न आएको एसपी काजी आचार्यले बताए । साथै प्रहरीले उनको साथबाट ल्यापटप एक थान, मोबाइल दुई थान, विभिन्न कम्पनीका सिमकार्ड २० थान, पेनड्राइभ एक थान र मेमोरी कार्ड एक थानसमेत बरामद गरेको छ ।