काठमाडौंबाट चुनाव लड्ने आशिका तामाङको घोषणा

शुक्रबार, २५ पुष, २०८२
डिजिटल संस्करण

अभियन्ताका रूपमा चर्चित आशिका तामाङले काठमाडौंबाट चुनाव लड्ने घोषणा गरेकी छिन्। काठमाडौं क्षेत्र नम्बर २ वा ९ मध्येबाट चुनाव लड्ने निर्णयमा पुगेको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन्। 

कुनै दलमा आबद्ध नभई स्वतन्त्र रूपमा चुनाव लड्ने उनको घोषणा छ । 

उनले लेखकी छिन्–
म विगत केही हप्तादेखि पछिल्लो राजनीतिमा सक्रिय रूपमा प्रवेश गर्ने वा नगर्ने विषयमा गम्भीर छलफल र आत्ममन्थनमा थिएँ। यस क्रममा सम्बन्धित सम्पूर्ण सरोकारवालासँग प्रत्यक्ष संवाद गरेँ, सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण सञ्चालन गरेँ र विशेष गरी जेन–जीका भाइबहिनीहरूसँग उनीहरूको अपेक्षा, चिन्ता, मुद्दा र चाहनाबारे खुला छलफल भयो।

यी छलफलहरूबाट केही सकारात्मक सुझावहरू प्राप्त भए भने धेरै आलोचनात्मक तथा नकारात्मक दृष्टिकोणहरू पनि आए। म ती सबै सुझाव, व्यवहार र विचारलाई समान रूपले सम्मान गर्दछु। यिनै अनुभव र जनभावनालाई मनन गर्दै, दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्नु नै वर्तमान सन्दर्भमा मेरो  जिम्मेवार निर्णय ठानेकी छु।

यसै सन्दर्भमा, म कुनै पनि राजनीतिक दलमा आबद्ध नहुने निर्णयका साथ आगामी हुने संसदीय निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु। विशेषगरी  जेन–जी भाइबहिनीहरूले उठाइरहेका आवाज, मुद्दा र परिवर्तनको चाहना अब संसदभित्र मात्र होइन, सडकदेखि सदनसम्म सशक्त रूपमा प्रतिनिधित्व हुनुपर्छ भन्ने भावनालाई सम्मान गर्दै यो निर्णयमा पुगेकी हुँ।

यो उम्मेदवारी व्यक्तिगत महत्त्वाकांक्षाभन्दा पनि नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानको प्रतिबद्धताबाट प्रेरित छ। म विश्वास दिलाउन चाहन्छु कि युवाहरूको सपना, उनीहरूको भविष्य र देशको समग्र हितका लागि दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्नेछु।

सबैको सुझाव, समर्थन र आलोचनालाई स्वीकार गर्दै, स्वच्छ र सचेत राजनीतितर्फको यो यात्रामा साथ र सहकार्यको अपेक्षा गर्दछु।

‘हाम्री दिदीले हाम्रो आवाज बोल्नुहुन्छ’ भन्ने तपाईंहरूको विश्वासलाई म कहिल्यै टुट्न दिनेछैन।
मेरो अठोटः
-युवा पुस्ताको भावनाको कदर
-सडकदेखि सदनसम्म जनसरोकारका मुद्दा
-भ्रष्टाचारविरुद्धको निरन्तर लडाइँ
भगवान् श्री पशुपतिनाथको कृपा र तपाईंहरूको साथ नै मेरो शक्ति हो। हाम्रो यो साझा यात्रा अब सुरु भयो।
जय नेपाल !  

सुझावित समाचार