कर्णाली प्रदेशका नाै जिल्लाका कांग्रेस सभापतिहरू विशेष महाधिवेशनको विपक्षमा खुलेका छन्। कालीकोट जिल्ला सभापतिले एकल तथा बाँकी आठ जिल्ला सभापति र एक जिल्ला उपसभापतिले संयुक्त विज्ञप्ति जारी गर्दै नेता–कार्यकर्तालाई विशेष महाधिवेशनमा सहभागी नहुन आह्वान गरेका हुन्।
जिल्ला सभापतिहरू खड्गबहादुर पोखरेल (सुर्खेत), मणिराम रेग्मी (दैलेख), बेदराज सिंह, (जाजरकोट), कर्णबहादुर शाही (जुम्ला), ऐनबहादुर शाही (मुगु), मोहनविक्रम सिंह (हुम्ला), प्रेमप्रकाश ओली (रुकुमपश्चिम) र लवकुमार शाही (डोल्पा–कार्यवाहक) तथा उपसभापति सन्तोष केसी (सल्यान)ले संयुक्त विज्ञप्ति जारी गरेका छन्।
पार्टीले १५औँ महाधिवेशनको कार्यतालिका प्रकाशित गरी काम गरिरहेकाले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको उनीहरूको तर्क छ। जिल्ला सभापतिहरूले आमनिर्वाचनलाई प्रभाव गर्ने गरी व्यक्तिविशेषले आह्वान गरेको विशेष महाधिवेशनले पार्टी र मुलुकलाई नै दुर्घटनातिर लैजाने बताएका छन्।

‘पार्टी विधिले चल्नुपर्छ, व्यक्तिले होइन। वर्तमान अवस्थामा घोषित नियमित १५औँ महाधिवेशन र आमनिर्वाचनलाई प्रभाव गर्ने गरी आह्वान गरिएको विशेष महाधिवेशनले पार्टी एकतालाई क्षति पुर्याउने तथा मुलुक र पार्टीलाई दुर्घटनातिर लैजाने हामी सबैको ठम्याइ रहेको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।
कालीकोट जिल्ला सभापति अम्बबहादुर शाहीले पनि छुट्टै विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनमा सहभागी नहुन अपिल गरेका छन्। विशेष महाधिवेशन व्यक्तिगत रूपमा बोलाइएको भन्दै शाहीले त्यसलाई पार्टीको विधानविपरीत भनेका छन्।
