बारामा मतदान केन्द्रको संख्या बढाइयो

शुक्रबार, २५ पुष, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बारा जिल्लामा मतदान केन्द्रको संख्या बढाइएको छ। जिल्ला निर्वाचन कार्यालयले ३२ वटा नयाँ केन्द्र थप गरेसँगै जिल्लाभर ५८७ मतदान केन्द्र कायम भएको हो।

जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीका अनुसार जिल्लामा ३०५ वटा मतदानस्थल निर्धारण गरिएका छन्। मतदाताको चाप र सहज मतदान सुनिश्चित गर्न यसअघि रहेका ५५५ केन्द्रमा थप गरी संख्या विस्तार गरिएको हो।

जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा ८६ मतदानस्थल र १६१ मतदान केन्द्र रहेका छन्। यस क्षेत्रमा एक लाख २३ हजार ९८५ मतदाता सूचीकृत छन्। क्षेत्र नम्बर २ मा ८२ मतदानस्थल र १४५ मतदान केन्द्रबाट एक लाख १३ हजार ८३९ मतदाताले मतदान गर्नेछन्। 

यसैगरी, निर्वाचन क्षेत्र नम्बर ३ मा ७६ मतदानस्थल र १४४ मतदान केन्द्र तोकिएका छन्। उक्त क्षेत्रमा एक लाख १३ हजार ५२१ मतदाता छन्। उता निर्वाचन क्षेत्र नम्बर ४ मा ६१ मतदानस्थल र १३७ मतदान केन्द्र कायम गरिएको छ। यस क्षेत्रमा एक लाख १४ हजार ४३९ मतदाता छन्।

निर्वाचन कार्यालयका अनुसार जिल्लाभर कुल चार लाख ६५ हजार ७८४ मतदाता छन्।

सुझावित समाचार