कोशी प्रदेशका स्टार्टअप उद्योगलाई नाफा कमाउन औसतमा २१ महिना १८ दिन समय लाग्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘कोशी प्रदेशमा स्टार्टअप उद्यमको प्रवृत्ति विशेष अध्ययन प्रतिवेदन, ०८१/८२’ ले स्टार्टअप उद्योगलाई नाफा कमाउन औसतमा २१ महिना १८ दिन लाग्ने गरेको देखाएको हो । राष्ट्र बैंकले कृषि तथा वनजन्य, उत्पादनमूलक, सेवामूलक, पर्यटन र सूचना प्रविधि गरेर पाँच क्षेत्रका एक सय ६० स्टार्टअप उद्यमको विवरण संकलन गरेको थियो ।
त्यसमा ८० प्रतिशत अर्थात् एक सय २८ स्टार्टअप उद्यम नाफामा छन् । उनीहरूलाई नाफा कमाउन औसत १.८ वर्ष समय लागेको प्रतिवेदनमा उल्लेख छ । तथ्यांकअनुसार कृषि तथा वनजन्य स्टार्टअपलाई नाफा कमाउन सबैभन्दा धेरै समय २.१ वर्ष लागेको छ । सबैभन्दा कम समय भने सेवामूलक स्टार्टअपलाई १.४ महिना लागेको छ । यसैगरी सूचना प्रविधिलाई १.६ वर्ष, पर्यटनलाई १.६ वर्ष, उत्पादनमूलकलाई १.८ वर्ष समय लागेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार अध्ययनमा समेटिएकामध्ये ८० प्रतिशत अर्थात् एक सय २८ स्टार्टअप नाफामा छन् । अध्ययनमा कृषि तथा वनजन्यका ६६, उत्पादनमूलकका २९, सेवामूलकका २८, पर्यटनका २२ र सूचना प्रविधिका १५ स्टार्टअप थिए । त्यसमा कृषिका ८६.४ प्रतिशत, सूचना प्रविधिका ६० प्रतिशत, उत्पादनमूलकका ७९.३ प्रतिशत, सेवामूलकका ८२.१ प्रतिशत र पर्यटनको ७२.७ प्रतिशत स्टार्टअप नाफामा छन् ।
प्रतिवेदनअनुसार एक सय ६० स्टार्टअपको औसत लगानी प्रतिफल ५.७ प्रतिशत छ । एक सय ६० उद्योगको कुल लगानी रकम दुई अर्ब २४ करोड ९० लाख रुपैयाँ छ । त्यसमा उनीहरूले आव ०८०/८१ मा ९२ करोड ६४ लाख ५० हजार रुपैयाँ आम्दानी गरेका छन् । त्यसमा नाफा भने १२ करोड ९२ लाख १० हजार रुपैयाँ भएको छ । यसरी उनीहरूको लगानी प्रतिफल ५.७ प्रतिशत छ ।
प्रतिवेदनअनुसार ६० प्रतिशत स्टार्टअप नाफामा आउँदा पनि सूचना प्रविधि क्षेत्रको प्रतिफल दर सबैभन्दा धेरै २०.९ प्रतिशत छ । अध्ययनमा समेटिएका यस क्षेत्रका १५ स्टार्टअपले एक करोड ४१ लाख रुपैयाँ आम्दानी गरेका छन् । त्यसमा आव ०८०/८१ मा उनीहरूको आम्दानीमा दुई करोड एक लाख ५० हजार रुपैयाँ छ । त्यसमा नाफा भने २९ लाख ५० हजार रुपैयाँ छ । योअनुसार लगानी प्रतिफल २०.९ प्रतिशत छ । यस्तै, कृषि तथा वनजन्य स्टार्टअपको ५.९ प्रतिशत, उत्पादनमूलक ८.७ प्रतिशत, सेवामूलकका ६.८ प्रतिशत र पर्यटनको ३ प्रतिशत लगानी प्रतिफल छ ।
प्रतिवेदनअनुसार ९१.९ प्रतिशत स्टार्टअप सफलताउन्मुख देखिएका छन् । ८.१ प्रतिशत स्टार्टअप भने संकटउन्मुख रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी सूचना प्रविधि, उत्पादनमूलक र सेवामूलक क्षेत्रका क्रमशः ८६.७ प्रतिशत, ९३.१ प्रतिशत र ८९.३ प्रतिशत उद्यम सफलताउन्मुख रहेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।