दुई नेपाली विद्यार्थीले मध्य एसियाली देश उज्बेकिस्तानस्थित एसिया अन्तर्राष्ट्रिय विश्वविद्यालय (इन्टरनेसनल युनिभर्सिटी)मा एमबिबिएसको पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) र एसिया इन्टरनेसनल युनिभर्सिटीको छात्रवृत्ति कपिलवस्तुको शुद्धोदन गाउँपालिका–६ का २१ वर्षीय सचिनकुमार प्रजापति र चितवनको भरतपुर महानगरपालिका–१८ की २१ वर्षीया भावना रेग्मीले प्राप्त गरेका हुन्। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा छात्रवृत्ति घोषणा गरिएको हो।
एनआरएनएका सिइओ राजेन्द्रकुमार राउतका अनुसार चिकित्सा शिक्षा आयोगद्वारा लिएको कमन इन्ट्रान्स–०८२ मा उत्तीर्ण भएका, शैक्षिक रूपमा सक्षम तथा आर्थिक रूपमा कमजोर पृष्ठभूमिका ८० विद्यार्थीमध्ये छात्रवृत्ति प्रवेश परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गरेका प्रजापति र रेग्मीले पूर्ण छात्रवृत्ति पाएका हुन्।
उनका अनुसार एमबिबिएस छात्रवृत्तिअन्तर्गत शैक्षिक शुल्क, होस्टल शुल्क, भोजन शुल्क, भिसा शुल्क, बिमा शुल्क तथा नेपालबाट उज्बेकिस्तान प्रारम्भिक यात्रा र अध्ययन सम्पन्नपछि नेपाल फर्किने हवाईजहाजको भाडा (एकपटकका लागि) एसिया विश्वविद्यालयले व्यहोर्नेछ। तर, अध्ययन अवधिमा कुनै पनि परीक्षामा अनुत्तीर्ण भएमा छात्रवृत्ति स्वतः रद्द हुने र त्यसपछिका सम्पूर्ण खर्च सम्बन्धित विद्यार्थी स्वयंले व्यहोर्नुपर्ने सर्त छ। त्यस्तै, उनीहरूले छात्रवृत्तिमा अध्ययन सम्पन्न गरेपछि नेपाल सरकारले उपलब्ध गराएमा वा तोकेको स्थानमा अनिवार्य रूपमा दुई वर्ष सेवा गर्नुपर्नेछ।
विश्वविद्यालयका डिन डा. किसान भण्डारीले सके नेपालमै नसके नेपालीका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले दुई नेपाली विद्यार्थीका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको बताए। उनका अनुसार गत मार्च महिनामा थाइल्यान्डमा भएको अन्तर्राष्ट्रिय युवा सम्मेलनको अवसरमा एनआरएनए र विश्वविद्यालयबिच आर्थिक रूपमा विपन्न तर शैक्षिक रूपमा सक्षम दुई नेपाली विद्यार्थीलाई निःशुल्क एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने समझदारी भएको थियो।
एनआरएनएका अध्यक्षद्वय डा. बद्री केसी र महेशकुमार श्रेष्ठले एनआरएनएले गैरआवासीय नेपालीको ज्ञान, सिप र पुँजी भित्र्याउनका साथै परोपकारी काममा हातमालो गर्दै आएको बताए।