नेपाली कांग्रेस उदयपुर जिल्ला कार्यसमितिले पार्टीभित्र विधि, पद्धति र लोकतान्त्रिक अभ्यासलाई निर्णायक रूपमा स्थापित गर्ने ऐतिहासिक अवसरका रूपमा विशेष महाधिवेशनलाई लिनुपर्ने भन्दै विशेष महाधिवेशनको पक्षमा उभिएको छ।
कांग्रेस जिल्ला कार्यसमिति उदयपुरका जिल्ला सभापति हिमाल कार्कीद्वारा जारी विज्ञप्तिमा पार्टी विधानअनुसार ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विधिवत रूपमा माग गरेको विशेष महाधिवेशन पूर्णतः संवैधानिक, कानुनी र वैधानिक प्रक्रियाअन्तर्गत रहेको उल्लेख गरिएको छ।
पार्टीको विधानअनुसार उठेको मागलाई औपचारिक रूपमा सम्बोधन गरी कार्यान्वयनतर्फ उन्मुख गराएकोमा जिल्ला कार्यसमितिले महामन्त्रीद्वय तथा केन्द्रीय नेतृत्वप्रति कृतज्ञता व्यक्त गरेको छ।
विज्ञप्तीमा विशेष महाधिवेशन कुनै व्यक्ति, गुट वा समूहको स्वार्थ नभई पार्टीलाई विधान, सामूहिक निर्णय र संस्थागत नेतृत्वतर्फ फर्काउने साझा अभियान भएको स्पष्ट पारिएको छ। विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई संगठनात्मक रूपमा सुदृढ बनाउँदै आगामी राजनीतिक चुनौती सामना गर्न सक्षम बनाउने विश्वास व्यक्त गरिएको छ।
यसै सन्दर्भमा उदयपुर जिल्लाका सम्पूर्ण महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, पार्टीका अग्रज नेता–कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरूलाई ऐतिहासिक विशेष महाधिवेशनमा उपस्थित भई सक्रिय र जिम्मेवार सहभागिता जनाउन जिल्ला कार्यसमितिले अपिल गरेको छ।
