आसन्न राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसका नौजनाले उम्मेदवारी दिएकाेमा एकजना निर्विरोध निर्वाचित भएका छन् । कोशीबाट कांग्रेस उम्मेदवार सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भए । उनी राष्ट्रपतिका राजनीतिक सल्लाहकार तथा पूर्वप्रधानमन्त्री स्वर्गीय सूर्यबहादुर थापाका पुत्र हुन् ।
मधेशमा कांग्रेसले दुई सिटमा दलितबाट धर्मेन्द्र पासवान र अपांगता समूहबाट रञ्जित कर्ण तथा कांग्रेस–एमालेकै गठबन्धनबाट अन्य क्लस्टरबाट लोसपाका महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् । ठाकुर लोसपाका अध्यक्ष तथा पूर्वमन्त्री हुन् । कर्ण नेविसंघका पूर्वअध्यक्ष हुन् ।
सुदूरपश्चिममा अन्य कोटाबाट कांग्रेसका खम्म खातीले उम्मेदवारी दिएका छन् । उनी नेपाल बार एसोसिएसनका पूर्वमहासचिव तथा पूर्वमहान्यायाधिवक्ता पनि हुन् ।
त्यस्तै, कांग्रेसले लुम्बिनी प्रदेशबाट अपांगता कोटामा वासुदेव जंगली र अन्य कोटाबाट चन्द्र केसीलाई उम्मेदवार बनाएको छ । बागमतीबाट महिला कोटामा कांग्रेसले गीता देवकोटालाई उम्मेदवार बनाएको छ । त्यस्तै, कर्णालीबाट अन्य समूहमा ललितबहादुर शाही, गण्डकीबाट अन्य समूहमा जगत तिमल्सिनालाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट उम्मेदवार बनेकामध्ये बागमतीबाट उम्मेदवारी दिएकी गीता देवकोटा, मधेशबाट उम्मेदवारी दिएका रञ्जित कर्ण र लुम्बिनीबाट उम्मेदवारी दिएका वासुदेव जंगली शेखर समूहका हुन् ।
एमालेबाट लुम्बिनीमा महिला कोटाबाट उम्मेदवारी दिएकी रामकुमारी झाँक्री ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् । उनी महाधिवेशनभन्दा एक महिनाअघि नेकपा एसबाट प्रवेश गरेकी हुन् । त्यस्तै, बागमतीबाट अन्य क्लस्टरमा उम्मेदवारी दिएका डा. प्रेम दंगाल एमाले केन्द्रीय सदस्य हुन् । उनले पार्टीको अखिल नेपाल किसान महासंघको अध्यक्षका रूपमा नेतृत्व सम्हालिसकेका छन् ।
कोशीमा एमालेबाट महिला कोटामा उम्मेदवारी दिएकी रोशनी मेचे आदिवासी जनजाति फाँटबाट उदाएकी महिला नेतृ हुन् । उनले अध्यक्ष केपी ओलीको सचिवालयमा रहेर काम गर्दै आएकी छिन् । दलित कोटामा कोशीबाट उम्मेदवारी दिएका एमालेकै सोम पोर्तेलले प्रतिनिधिसभामा समानुपातिकतर्फको उम्मेदवारबाट राजीनामा दिएर मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै, सुदूरपश्चिमबाट महिला क्लस्टरमा उम्मेदवारी दिएकी लीला भण्डारी एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पूर्वपोलिटब्युरो सदस्य हुन् । माओवादी हुँदै तत्कालीन नेकपा फुट्दा उनी एमालेमै बसेकी थिइन् । दैलेखकी मीना रखाल पार्टी केन्द्रीय सदस्य छिन् । उनले कर्णालीमा महिला क्लस्टरबाट उम्मेदवारी दिएकी छिन् ।
त्यस्तै, पूर्वकेन्द्रीय सदस्य सम्झना देवकोटालाई एमालेले गण्डकी प्रदेशमा महिला क्लस्टरबाट उम्मेदवार बनाएको छ । उनी ०७९ मा गोरखा नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् । एमालेले मधेशमा महिला क्लस्टरमा रेखाकुमारी झालाई उम्मेदवार बनाएको छ ।