नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा सहभागी हुन प्रतिनिधिहरूलाई अपिल गरेका छन्। बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वयले पौष २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानुनी र राजनीतिक रुपमा समेत अपरिहार्य र बाध्यकारी बनेको बताएका हुन्।
‘विधानको धारा ३ (१२) तथा धारा २७ (१)समेतको व्यवस्थालाई आत्मसात गर्दै नेपाली कांग्रेसको विधानको धारा १७ (२) अनुसार मिति २०८२ पौष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी भई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक आह्वान गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।
विधानबमोजिम निवेदन दिएपछि विशेष महाधिवेशन बोलाउन नसक्ने अवस्थाको परिकल्पनासमेत पार्टी विधानले नगरेको महामन्त्रीद्वयले स्पष्ट पारेका छन्।
विधानबमोजिम कारणसहित माग गरेको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहीन भन्ने अधिकार विधानले कसैलाई नदिएको पनि उनीहरूले बताएका छन्। विशेष महाधिवेशनको मिति तोकिएसँगै संस्थापन पक्षले विशेष महाधिवेशनको माग औचित्यहीन भएको भन्दै पार्टीका नेता–कार्यकर्तालाई त्यसतर्फ नलाग्न आग्रह गरेपछि महामन्त्रीद्वयले यस्तो बताएका हुन्।
विधानबमोजिम बाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाउनु राजनीतिक दलसम्बन्धी कानुनको समेत विपरीत रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘विधान र कानुनबमोजिम पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गर्नु केन्द्रको कर्तव्य र जिम्मेवारी हो। एउटा लोकतान्त्रिक पार्टीको जिम्मेवार पदाधिकारीको रूपमा यो हाम्रो वैधानिक एवं नैतिक दायित्व र जिम्मेवारी हो। हामीले त्यो जिम्मेवारी पूरा गर्नुपर्छ, गर्नेछौँ।’