गढीहरूको संरक्षण र प्रर्वद्धन गर्दै पर्यटन प्रचारप्रसारको लागि नेपाली सेनाले उदयपुरको उदयपुरगढी–चौदण्डीगढीसम्मको दोस्रो पदयात्रा सुरु गरेको छ । सेनाको पशुपति प्रसाद गणको आयोजनामा ऐतिहासिक गढी उदयपुरगढीदेखि चौदण्डीगढीसम्मको पाँच दिने पदयात्रा आज(बुधबार)बाट सुरु भएको हो ।
उदयपुरगढी गाउँपालिका–५ स्थित उदयपुरगढीमा आयोजित कार्यक्रमबिच पदयात्रा सुरु भएको हो भने २७ पुसमा चौदण्डीगढी नगरपालिका–२ स्थित चौदण्डीगढीमा पुगेर समापन हुनेछ ।
ऐतिहासिक गढीको संरक्षण, पर्यापर्यटनको विकास र नयाँ पुस्तालाई इतिहास, भुगोल र नैतिक शिक्षा प्रदान गर्ने उद्देश्यले सेनाले पदयात्रा सञ्चालन गर्न सुरु गरेको पशुपति प्रसाद गणका गणपति प्रमुख सेनानी मनोज कार्की जानकारी दिए । गतवर्ष पहिलोपटक पदयात्रा सात दिनको थियो । उनले भने, ‘पदयात्रा उदयपुरगढी गाउँपालिकाबाट सुरु भएर पहिलो उदयपुरगढीकै ढुंग्रेसम्म १६ किलोमिटर, दोस्रो दिन ढुंग्रेबाट पुवारे भन्ज्याङ २१ किलोमिटर, तेस्रो दिन पुवारे भन्ज्याङबाट राउने २१ किलोमिटर, चौथो दिन साउनेबाट विरेन्द्रबजार २४ किलोमिटर र पाँचौ दिन विरेन्द्र बजारबाट चौदण्डीगढी १५ किलोमिटर गरी समापन हुनेछ ।’
उनका अनुसार पाँच दिने यात्राको क्रममा ती क्षेत्रमा पर्ने विद्यालयहरूमा विभिन्न प्रतियोगितात्मक कविता, निबन्ध, हाजिरीजवाफलगायतका कार्यक्रम सञ्चालन हुनेछन् । कार्यक्रमहरुको व्यवस्थापन र सहयोग स्थानीय पालिकाहरुले गर्नेछन् ।पदयात्रालाई आकर्षक बनाउन सेनाको ऐतिहासक कालो पोसाकका सैनिकहरूलाई समेत सहभागिता गराइएको छ ।
पदयात्रा उद्घाटन समारोहमा नेपाली सेना पूर्वीपृतनाका पृतनापति उपरथी गौरवकुमार केसीले गढी र किल्लाहरू ढुङ्गा माटो र इटाका थुप्रोहरू मात्रै नभएर हाम्रा पुर्खाहरूले राष्ट्रिय स्वाधीनता बचाउन गरेको त्याग र बलिदानको निशानी भएको बताए । उनले यसको संरक्षण र सम्वद्र्धनका लागि जनचेतना जगाउने, गौरव गाथालाई खोज अनुसन्धान गरी प्राप्त उपलब्धिलाई भावी पुस्ताका लागि लिपिबद्ध गर्नुपर्ने सुझाव दिए ।
यस्तै त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई, उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगर र रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले सेनाको पदयात्रा कार्यक्रम पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
यस्तो छ, दुवै गढीको इतिहास र पहिचान
उदयपुरगढी र चौदण्डीगढी केवल पुराना किल्ला मात्र होइनन्, नेपाल राज्य निर्माण, प्रशासनिक विकास र पूर्वी नेपालको राजनीतिक इतिहाससँग गहिरो रूपमा जोडिएका ऐतिहासिक धरोहर हुन् ।
नेपाल सरकारले पहिचान गरेका १०० प्रमुख पर्यटकीय गन्तव्यमध्ये उदयपुरबाट छनोट भएको एकमात्र स्थल उदयपुरगढी हो । इतिहासकाहरुका अनुसार उदयपुरगढीमा लिच्छिवीकालिन राजा उदयदेवसँग सम्बन्धित मानिन्छ ।
उदयपुरगढीबाट पूर्वमा पर्ने चौदण्डीगढी पूर्वी नेपालको प्राचीन प्रशासनिक केन्द्रका रूपमा परिचित छ । वि.स. १७९० देखि सेनवंशी शासकहरूले यहाँ शासन गरेको इतिहास पाइन्छ । मकवानपुरका राजा हेमकर्ण सेनका भाइ जगत सेनले पूर्वी सीमाको सुरक्षा र शासनका लागि चौदण्डीगढी राज्य स्थापना गरेका थिए ।
वि.सं. १८३० तिर पृथ्वीनारायण शाहले यो राज्यलाई गोर्खा अधीनमा ल्याएपछि पनि लामो समयसम्म यो पूर्वी नेपालको प्रशासनिक केन्द्र रह्यो । आज यहाँ ढुङ्गाका भग्नावशेष, दरबारका जग र ऐतिहासिक संरचनाका अवशेष मात्र बाँकी छ ।


