सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीतिविपरीत गैरव्यावसायिक एवं अमर्यादित सामग्री पोस्ट गर्ने ५९९ जना प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरीले कारबाही गरेको छ। आर्थिक वर्ष ०७७/७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटकलगायतका विभिन्न सामाजिक सञ्जालहरूमा संगठनविरुद्ध अमर्यादित टिप्पणी गर्ने एवं प्रहरी पोसाकको दुरुपयोग गर्ने प्रहरी नायब महानिरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मलाई विभागीय कारबाही गरिएको प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले बताए।
कारबाही पर्नेहरूमा प्रहरी नायब महानिरीक्षक १ जना, प्रहरी वरिष्ठ उपरीक्षक १ जना, प्रहरी उपरीक्षक ४ जना, प्रहरी नायब उपरीक्षक ५ जना, प्रहरी निरीक्षक २४ जना, प्रहरी वरिष्ठ नायब निरीक्षक ११ जना, प्रहरी नायब निरीक्षक २४ जना, प्रहरी सहायक निरीक्षक ५१ जना, प्रहरी वरिष्ठ हवल्दार ७ जना, प्रहरी हवल्दार ३५ जना, सहायक हवल्दार ७६ जना, प्रहरी जवान ३ सय ५८ जना र प्रहरी कार्यालय सहयोगी २ जना रहेका छन् । उनीहरूलाई संगठनको नीति विपरीत कार्य गरेकोमा सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्कासम्मको कारबाही गरिएको छ ।
नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन मिति २०७१/०९/११ मा परिपत्र गरी सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गर्नेसम्बन्धी गाइडलाइन्स लागू गरेको छ । साथै, नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश, २०७७ एवं प्रहरी प्रधान कार्यालयबाट विभिन्न मितिमा गरिएका परिपत्रहरूमा समेत प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालमा गैरव्यावसायिक र अमर्यादित आचरण प्रदर्शन हुने गरी हातहतियार, पोसाक, सवारीसाधनलगायत प्रहरी गतिविधिका भिडियो-फोटो अपलोड गर्न, टिकाटिप्पणी गर्न बन्देज गरिएको छ। यसैगरी, सामाजिक सञ्जालको प्रयोग गर्दा प्रहरी कर्मचारीहरूले गोपनीयता, शान्तिसुरक्षा, धार्मिक तथा साम्प्रदायिक गतिविधिलगायतमा खलल पुग्नेजस्ता कुनै पनि सामग्री पोस्ट, सेयर, लाइक या टिप्पणी गर्न नहुने प्रावधान छ।
पछिल्लो समय नेपाल प्रहरीको सामाजिक सञ्जालको प्रयोगसम्बन्धी नीतिविपरीतका सामग्री हटाउन र कारबाहीको दायरामा ल्याउने कार्यलाई नेपाल प्रहरीले तीव्र बनाएको प्रवक्ता काफ्लेले बताए।