नेकपा एमालेले आगामी राष्ट्रिय सभा निर्वाचनका लागि आठजना उम्मेदवारको नाम तय गरेको छ। १८ सदस्यका लागि हुने निर्वाचनमा सहभागी हुने उम्मेदवारको सूची एमालेले अन्तिम रूप दिएको हो।
पार्टीका अनुसार कोशी प्रदेशबाट रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशबाट रेखा झा तथा बागमती प्रदेशबाट प्रेम दंगाल राष्ट्रिय सभा उम्मेदवार हुनेछन्। यस्तै, गण्डकी प्रदेशबाट सम्झना देवकोटा उम्मेदवार चयन भएकी छिन्।
प्रदेशगत रूपमा अन्य उम्मेदवारमा लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, कर्णाली प्रदेशबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीला भण्डारी रहेका छन्।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदै छ। तर, प्रमुख राजनीतिक दलहरूबिच सिट बाँडफाँटको सहमति भने अझै टुंगो लाग्न सकेको छैन। दलहरूबिच सहमतिको प्रयास जारी रहेकै अवस्थामा एमालेले आफ्ना उम्मेदवार टुंगो लगाएको जनाएको छ।