बर्दिया अस्पताल गुलरियामा रेबिज भ्याक्सिन अभाव भएको छ । अस्पतालमा ०८२ मंसिर २१ गतेदेखि एन्टिरेबिज भ्याक्सिनको अभाव हुँदा बिरामीले सास्ती खेप्नुपरेको हो ।
रेबिज रोग कुकुर, बिरालो, चमेरो, स्याल, ब्वाँसोलगायत वन्यजन्तुको टोकाइबाट लाग्ने प्राणघातक रोग हो । यो रोग लागेमा यसको उपचार सम्भव छैन् । रेबिज रोगबाट बच्ने उपाय भनेको एन्टिरेबिजविरुद्धको भ्याक्सिन भएको अस्पतालका मेडिकल अधिकृत डाक्टर भरत भण्डारीले बताए । उनले भने, ‘अस्पतालमा प्रायःजसो कुकुरले टोकेर एन्टिरेबिज भ्याक्सिन लगाउन आउने गरेका छन् । तर, अहिले अस्पतालमा भ्याक्सिन सकिएको छ ।’
सरकारले पर्याप्त मात्रामा भ्याक्सिन उपलब्ध गराउन नसक्दा अस्पतालमा पटक–पटक भ्याक्सिन अभाव हुने गरेको छ । अस्पतालमा आर्थिक वर्ष ०८२/८३ को कात्तिकसम्म ५२० भाइल, आर्थिक वर्ष ०८१/८२ मा एक हजार ६ सय भाइल, आर्थिक वर्ष ०८०/८१ मा एक हजार पाँच सय भाइल एन्टिरेबिज भ्याक्सिन लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले पठाएको अस्पतालका मेडिकल रेकर्डर केशव न्यौपानेले बताए ।
आर्थिक वर्ष ०८२/८३ को कात्तिकसम्म ३४० जना बिरामीलाई, आर्थिक वर्ष ०८१/८२ मा एक हजार १९ जना बिरामीलाई, आर्थिक वर्ष ०८०/८१ मा ९८६ जना बिरामीलाई एन्टिरेबिज भ्याक्सिन लगाइएको इमर्जेन्सी इन्चार्ज बलबहादुर महतराले जानकारी दिए ।
लुम्बिनी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले बर्दिया अस्पताल गुलरिया र राजापुर प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा भ्याक्सिन अभाव भएको एक महिना हुँदा पनि आपूर्ति व्यवस्थापन केन्द्रले भ्याक्सिन पठाएको छैन ।