- आइसिसीले विभिन्न राष्ट्रमा टी–२० विश्वकपको ट्रफी टुर गराएको छ । यसैक्रममा नेपालमा पहिलोपटक ट्रफी आइपुगेको हो ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले सोमबार आयोजना गरेको एनएसजेएफ स्पोर्टस् समिटमा आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी प्रदर्शन राखिएको छ । आगामी महिना भारत र श्रीलंकामा संयुक्त रूपमा विश्वकप आयोजना गर्दै छन् । आइसिसीले विभिन्न राष्ट्रमा ट्रफी टुर गराएको छ । यसैक्रममा नेपालमा पहिलोपटक सो ट्रफी आइपुगेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार शीतलनिवासमा ट्रफी सार्वजनिक गरेका थिए । त्यसपछि ट्रफी पोखरा पुर्याइएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)को निर्धारित कार्यक्रमअनुसार विश्वकप ट्रफी मंगलबार दिउँसो काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा प्रदर्शनीमा राखिने कार्यक्रम तय भएको थियो । तर, मञ्चको स्पोर्टस् समिटमा ट्रफी प्रदर्शन गरिएको हो । क्यानले विशेष कारणवश ट्रफी वसन्तपुर दरबार स्क्वायरमा प्रदर्शनी नहुने जनाएको छ ।
स्पोर्टस् समिटमा पोखरामा खेल पर्यटन र अर्थतन्त्र विषयमा छलफल भएको थियो । जसमा नेपाल पयर्टन बोर्डका अफिसेटिङ डाइरेक्टर सुनील शर्मा, राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव टंकलाल घिसिङ, पोखरा टुरिजम बोर्डका संस्थापक अध्यक्ष अशोक पालिखे र पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले आ–आप्mनो मन्तव्य राखेका थिए । भट्टराईले पोखरामा भौतिक पूर्वाधार पर्याप्त रहे पनि त्यसलाई सुहाउँदो रूपमा प्रतियोगिता नभएको गुनासो पोखे । पूर्वसदस्यसचिव घिसिङले भौतिक पूर्वाधारले सम्पन्न पोखरामा ठुलो स्तरका अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिने बताए ।
२२औँ स्पोर्टस् अवार्ड आज
पहिलोपटक पोखरामा आयोजना हुन लागेको २२औँ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ । काठमाडौंबाहिर पहिलोपटक अवार्ड हुन लागेको हो । यसपल्टको कार्यक्रम पोखराको सभागृहमा आयोजना हुनेछ । मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले अवार्डलाई लिएर आफू धेरै उत्साहित रहेको बताएका छन् । ‘अवार्डको सबै तयारी पूरा भएको छ । सुरुमा मोफसलमा अवार्ड कार्यक्रमको आयोजना गर्दा धेरै चुनौती सामना गर्नुपर्ने लागेको थियो,’ अधिकारीले भने, ‘तर पोखरामा आएपछि हामीले चुनौतीभन्दा पनि बढी अवसर देखेका छौँ । अब पोखरा राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रमको पनि गन्तव्य बन्नेछ ।’ अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ ।
अवार्डमा यसपल्ट पनि १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पाराएथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ दी इयर र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड रहेका छन् । पिपल्स च्वाइस अवार्डको मनोनयनमा रहेका खेलाडीमा उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल रहेका छन् ।