आन्दोलन र प्रदर्शन नगर्ने प्रतिबद्धतापछि वीरगन्जको कर्फ्यु मंगलबार दिउँसो साढे ३ बजेबाट हटेको छ । वीरगन्जमा सोमबार साँझबाट कर्फ्यु जारी भएको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा मंगलबार बसेको बैठकले सर्वदलीय र सर्वपक्षीय बैठकमा सहभागी समेटेर स्थायी संयन्त्र बनाउने निर्णय गरेको छ । दल, जनप्रतिनिधि र संंघसंस्थासहितको संयन्त्रले सद्भाव कायम गर्ने भूमिका खेल्ने सहायक प्रमुख जिल्ला अधिकारी विनोदप्रसाद पोखरेलले बताए । साथै, अन्य मुलुक र स्थानमा घटेका घटना र दुर्घटनालाई लिएर वीरगन्जमा प्रदर्शन र आन्दोलन नगर्न प्रतिबद्धतासहितको निर्णय पनि भएको छ । यसको साटो पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिएर मात्र आन्दोलनको कार्यक्रम गर्न सकिने भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार धार्मिक, सामाजिक सद्भाव बिथोल्न दुरुत्सान गर्ने समूह र आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने छ । रक्षाबन्धन पर्वप्रति दुई युवकले टिकटकमा नकारात्मक भिडियो पोस्ट गरेको निहुँमा मधेशको सामाजिक सद्भाव नै खलबलिने गरी तनाव सिर्जना भएको थियो ।
नकारात्मक भिडियो पोस्ट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेर कारबाहीको प्रक्रिया सुरु गरिसकेको अवस्थामा गत शनिबार धनुषाको कमला नगरपालिका– ६, सखुवा मरानस्थित मुस्लिम टोलस्थित मस्जिदमा तोडफोड र कुरान जलाएपछि तनाव थप चर्किएको थियो । त्यसपछि मधेशमा सुरक्षा सतर्कता बढाइएको थियो भने वीरगन्जमा हरेक दिन प्रदर्शन हुन थालेपछि कर्फ्यु लगाइएको थियो ।