मंगलबार : १० बजेसम्मका १० मुख्य खबर

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

विशेष महाधिवेशन माग्दै कांग्रेस कार्यकर्ताले घेरे पार्टी कार्यालय
सानेपामा विशेष महाधिवेशन माग्दै प्रदर्शनरत नेपाली कांग्रेसका कार्यकर्ताहरूले नेताहरूलाई पार्टी कार्यालय प्रवेश गर्न अवरोध गरेका छन्। प्रदर्शनरत कार्यकर्ताले नेताहरूविरुद्ध नाराबाजी गर्दै पार्टीलाई बन्दी बनाएकोमा विरोध गरे। सो क्रममा नेता विमलेन्द्र निधिलगायत केही नेतासँग प्रदर्शनरत कार्यकर्ताको नोकझोंकसमेत भएको छ। अवरोधपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि नेताहरू वैकल्पिक गेटबाट पार्टी कार्यालय प्रवेश गरेका छन्।

वीरगन्जमा दुई पक्षबिच सहमति, कर्फ्युु हट्यो
वीरगन्जमा दुई समुदायबिच भएको झडप र प्रदर्शनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय बैठकले पाँचवटा निर्णय गरेको छ। मंगलबार बिहान १० बजेदेखि प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको बैठकले सर्वदलीय तथा सर्वपक्षीय बैठकमा सहभागीहरूलाई समेटेर स्थायी संयन्त्र बनाउने निर्णय गरेको हो।

तीनकुनेको काठ गोदाममा आगलागी (भिडियोसहित)
काठमाडौंको तीनकुनेस्थित एक काठ गोदाममा आगलागी भएको छ। आगलागीका कारण गोदामबाट धुवाँको बाक्लो मुस्लो उठिरहेको छ। आगो निभाउने प्रयास जारी रहेको बानेश्वर वृत्तका डिएसपी हरि खतिवडाले जानकारी दिए।

नेप्से नौ अंकले बढ्यो, कारोबार रकम सात अर्बमाथि
मंगलबार नेप्से परिसूचक ९.९३ विन्दुले बढेर दुई हजार ६४९.३० विन्दुमा कायम भएको छ। सोमबार २८ अंकले उकालो लागेको नेप्से आज करिब १० अंकले बढेको हो। ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५० प्रतिशतले उकालो लागेको छ। आज नेप्सेसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ।

कोशीमा एमाले–कांग्रेसको आलोपालो सहमतिअनुसार फेरिए सबै मन्त्री
कोशी प्रदेशमा एमाले–कांग्रेसको आलोपालो सहमतिअनुसार सरकारका सबै मन्त्रीहरु परिवर्तन भएका छन्। एमाले–कांग्रेस सत्ता गठबन्धनले २१ महिनापछि मन्त्रिपरिषदका सबै मन्त्रीहरु परिवर्तन गरेको हो। गठबन्धनको आलोपालो सहमतिअनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो मन्त्रिपरिषदका आठजना विभागीय र दुईजना राज्यमन्त्री परिर्वतन गरेका छन्।

राष्ट्रिय सभा निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने कांग्रेसको निर्णय
नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य निर्वाचनमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने औपचारिक निर्णय गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा मंगलबार सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो। 

सहसचिव प्रदीप परियारसहितलाई विशेष अदालतको सफाइ 
भ्रष्टाचार मुद्दामा सहसचिव प्रदीप परियारसहितले सफाइ पाएका छन्। काठमाडौं महानगरपालिकाको एक ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २८ जेठमा दायर गरेको मुद्दामा फैसला सुनाउँदै विशेष अदालतले सबैलाई सफाइ दिने फैसला गरेको हो।  विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले मंगलबार सफाइ दिएको हो। बोलपत्र स्वीकृत गर्दा बदनियत मान्न सकिने प्रस्ट आधार नभएको भन्दै विशेषले सफाइ दिएको हो। 

प्रेमीले नै गरेका थिए अबिना दनुवारको हत्या, एक महिनापछि पक्राउ
कर्जन्हा नगरपालिका–१ बल्टियाकी १७ वर्षीया अबिना वैध(दनुवार) को हत्या उनकै प्रेमी रामबालक चौधरीले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। अबिनाको २२ मंसिरमा हत्या भएको थियो । हत्याको एक महिनापछि मंगलबार प्रहरीले पत्रकार सम्मेलनमार्फत मुख्य अभियुक्त पक्राउ परेको जनाएको हो। जिल्ला प्रहरी कार्यालय सिराहामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक अनन्तराम शर्माले अभियुक्तको पहिचान पहिल्यै भए पनि प्रमाण संकलन गर्ने क्रममा ढिलाइ भएको बताए ।

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
आइसिसी पुरुष टी–२० क्रिकेट विश्वकप खेल्ने नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो। दीपेन्द्रसिंह ऐरी उपकप्तान रहेको टोलीमा सन्दीप लामिछाने, सोमपाल कामी, करन केसी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, ललितनारायण राजवंशी, लोकेश बम, गुल्सनकुमार झा, सन्दीप जोरा, बसिर अहमद, नन्दन यादव र शेर मल्ल समावेश छन्। 

मन्त्रिपरिषद्का ३५ निर्णय सार्वजनिक 
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद् बैठकका ३५ निर्णय सार्वजनिक गरेका छन्। ११ पुसमा बसेको बैठकले गरेका १३ र २२ पुसमा बसेको बैठकले गरेका २३ निर्णय उनले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक हुन्। 

सुझावित समाचार