नवीन औद्योगिक कदरबहादुर रिता मावि बुटवलले स्थापनाको ५० वर्षका अवसरमा स्वर्ण महोत्सव मनाएको छ। ०३३ सालमा स्थापना भएको विद्यालयले अर्धशताब्दी प्रवेशका अवसरमा विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रमसहित स्वर्ण महोत्सव मनाएको हो।
मंगलबार आयोजित समारोहमा स्वर्ण महोत्सव स्तम्भ ०८२ को अनावरण, स्वर्ण महोत्सव दर्पण विमोचनसहितका कार्यक्रम भएका थिए। कार्यक्रममा राष्ट्रिय सेवा दल, स्काउट र अन्य विद्यार्थीले मार्चपास, पिटी प्रदर्शन, विविध संस्कृति झल्किने नृत्य, नाटक प्रस्तुत गरेका थिए। सोही अवसरमा एसइई, कक्षा १२ तथा अन्य कक्षामा उत्कृट नतिजा ल्याउन सफल विद्यार्थी, शिक्षक कर्मचारीलाई सम्मान गरिएको थियो।
यस विद्यालयमा ५८ जिल्लाका पाँच हजारभन्दा बढी विद्यार्थी छन्। विद्यालयमा १८४ जना शिक्षक कर्मचारी रहेका छन्। विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतका अनुसार कक्षा ११ र १२ मा व्यवस्थापन, सिभिल इन्जिनिरिङ, विज्ञान, होटेल म्यानेजमेन्ट, कानुन र शिक्षा समूह ४१ जना शिक्षकले नेपाल सरकारको स्रोतबाट र १४३ जनाले विद्यालयको स्रोतबाट पारिश्रमिक पाउँदै आएका छन्।
समारोहको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खेलकुद र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गरीरहेको बताए ।

नयाँ पत्रिकाकर्मी घिमिरे सम्मानित
नवीन औद्योगिक कदरबहादुर रिता मावि बुटवलले स्वर्ण महोत्सवका अवसरमा नयाँ पत्रिकाकर्मी विष्णु घिमिरेसहित आठजना पत्रकारलाई सम्मान गरेको छ।
स्वर्ण महोत्सव तथा अभिभावक दिवस ०८२ मूल समारोहमा विद्यालयले नयाँ पत्रिकाकर्मी घिमिरेलाई सम्मान गरेको हो। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, वडा नम्बर ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, शिक्षाविद् आनन्दमानसिंह शाक्यलगायतले सम्मान–पत्रसहित सम्मान तथा नगदसहित पुरस्कृत गरेका हुन्।
विद्यालयका गतिविधिलाई प्रचारप्रसार गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै स्वर्ण महोत्सवका अवसरमा पुरस्कृत गरिएको विद्यालयले जनाएको छ।