रथी श्रेष्ठलाई अबेईमा फोर्स कमान्डरका रूपमा काम गर्न सरकारको स्वीकृति

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

नेपाली सेनाका रथी गणेशकुमार श्रेष्ठलाई संयुक्त राष्ट्रसंघअन्तर्गत फोर्स कमान्डरका रूपमा काम गर्न नेपाल सरकारले स्वीकृति दिएको छ।  सुडान र दक्षिण सुडानबिचमा रहेको अबेई क्षेत्रका लागि राष्ट्रसंघले एक महिनाअघि नै उनलाई सो पदमा नियुक्त गरेको थियो । 

खुला प्रतिस्पर्धामा आधारमा राष्ट्रसंघले उनलाई छानेको हो। यसअघि घानाका मेजर जनरल रोबर्ट अफ्राम सो जिम्मेवारीमा थिए।  

अबेई सुडान र दक्षिण सुडानबिचको विवादित भूमि हो। जसलाई राष्ट्रसंघले विशेष प्रशासनिक क्षेत्रको मान्यता दिएको छ। अबेईमा राष्ट्रसंघले स्थापनार्थ छुट्टै शान्ति खटाएको छ। जहाँको सम्पूर्ण सुरक्षा फौजको कमान्ड रथी श्रेष्ठले गर्नेछन्। 

नेपाली सेनाबाट राष्ट्रसंघीय शान्ति मिसनमा फोर्स कमान्डर बन्ने श्रेष्ठ आठौँ सैनिक अधिकारी हुन्। यसअघि कृष्णनारायणसिंह थापा, भिक्ट्रीशमशेर जबरा, बालानन्द शर्मा, पवनजंग थापा, पूर्णचन्द्र थापा, ईश्वर हमाल र निर्मलकुमार थापाले फोर्स कमान्डरको जिम्मेवारी सम्हालेका थिए। 

संयुक्त राष्ट्रसंघको शान्ति स्थापनामा धेरै सुरक्षा फौज खटाउनेमा नेपाल हाल पहिलो स्थानमा छ।
 

सुझावित समाचार