त्रिवेणी कपको उपाधि एपिएफलाई

सोमबार, २१ पुष, २०८२
डिजिटल संस्करण

सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबले ३३औँ त्रिवेणी कपको उपाधि हात पारेको छ। त्रिवेणी युवा क्लब लमजुङको आयोजनामा बेँसीसहरस्थित त्रिवेणी रंगशालामा सोमबार सम्पन्न प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा बेसीसहर–७ नाल्मास्थित स्थानीय लाङ्दीदेवी युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै एपिएफले लगातार दोस्रोपटक उपाधि हात पारेको हो ।

फाइनल खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् । दोस्रो हाफमा एपिएफले दुई गोल गर्दै उपाधिमा दोस्रो पटक नाम लेखाउन सफल भएको हो । एपिएफको जितमा खेलको ७७औँ मिनेटमा युवराज खड्काले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । यस्तै, एपिएफका लागि खेलको ८३औँ मिनेटमा प्रदीप लामाले दोस्रो गोल गरेका थिए । 

फाइनल खेलको ‘म्याच अफ दी म्याच’ मा एपिएफका युवराज खड्का घोषित हुँदा विधातर्फ प्रतियोगितामा समान तीन गोल गरेका एपिएफका प्रदीप लामा र समीर थोकर सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपरमा एञ्जल श्रेष्ठ र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सन्तोष खत्री घोषित भएका थिए ।

सात वर्षपछि एपिएफको प्रशिक्षण पुनः सम्हालेका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टोली सम्हालेपछिको पहिलो खेलमै उपाधि दिलाउन सफल भएका छन् । 
विजेता टिम तथा खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, आयोजक क्लबका अध्यक्ष टेकजंग गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।

१२ पुसमा सुरु भएको प्रतियोगितामा ‘ए’ डिभिजनका चारसँगै मोफसल र आयोजक गरि १६ टोलीको सहभागिता थियो । प्रतियोगिताको विजेताले १२ लाख, उपविजेताले ६ लाख नगदसँगै ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल किपरले जनही २५÷२५ हजार नगद ट्रफी र प्रमाणपत्र पुरस्कार पाएका छन् । यस्तै, खेलका म्याद अफ दी म्याचले १० हजार रुपैयाँ र ट्रफी पाए ।
 

सुझावित समाचार