एमाले खोटाङले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १० जनाको नाम सिफारिस गरेको छ ।
एमाले सचिवालय समितिको सोमबार दिक्तेलमा बसेको बैठकले केन्द्रीय सदस्य एवं पूर्वसांसद विशाल भट्टराई, कोशी प्रदेश समितिका उप–सचिव देवान राई, जिल्ला अध्यक्ष देवविक्रम राई, नेताहरू खगेन्द्र राई र रमेश पौडेल, प्रदेश सभा सदस्य एवं कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’, पूर्वजिल्ला अध्यक्ष रामप्रसाद दंगाल, प्रदेश लेखा आयोग समितिका सचिव ओमप्रकाश घिमिरे, जिल्ला सचिवालय सदस्य धनकुमारी श्रेष्ठ र जेन–जी समूहबाट अखिलका केन्द्रीय सदस्य विष्णु उपरकोटीलाई उम्मेदवारमा सिफारिस गरेको हो ।
जिल्लाबाट सिफारिस हुने नेताहरूको नामावली आजै कोशी प्रदेश समितिमा पठाएको जिल्ला अध्यक्ष देवविक्रम राईले जानकारी दिए । दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा बसेको एमाले सचिवालय समितिको बैठकमा उम्मेदवारका आकांक्षी धेरै भएपछि सबैजना नेताको नाम सर्वसम्मत निर्णय गरेर प्रदेश समितिमा पठाएको एमालेले जनाएको छ ।
एमाले खोटाङले समानुपातिक उम्मेदवारका लागि यसअघि नै उषाकला राई, खगेन्द्र राई र कर्ण घलेको नाम सिफारिस गरेको थियो । जिल्लाबाट सर्वसम्मत सिफारिस भएका नेताहरूमध्ये उषाकलाको नाम केन्द्रीय समितिको बन्दसूचीमा समावेश भएर निर्वाचन आयोगमा पेस भइसकेको छ ।