एमालेले एकीकृत समाजवादीविरुद्ध दिएको रिट खारेज, सभामुखका नाममा निर्देशनात्मक आदेश

सोमबार, २१ पुष, २०८२
डिजिटल संस्करण

नेकपा(एमाले)ले माधवकुमार नेपाल नेतृत्वको तत्कालीन नेकपा(एकीकृत समाजवादी) पार्टीविरुद्ध दिएको रिट सर्वाेच्च अदालतले खारेज गरेको छ। सोमबार सर्वाेच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजसालले रिट खारेज गरी निर्देशनात्मक आदेश जारी गरेको हो । 

पार्टीले कारबाही गरेका सांसदहरू मिलेर एकीकृत समाजवादी दल गठन गरेकाले सो दल खारेजको माग गरी एमालेले २०७८ को भदौमा रिट दायर गरेको थियो । औचित्य समाप्त भएको भन्दै रिट खारेजको फैसला भएको सर्वाेच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालले बताए । साथै, सभामुखको नाममा निर्देशनात्मक आदेश जारी भएको छ । निर्देशनात्मक आदेशको व्यहोरा भने फैसलाको पूर्णपाठ आएपछि मात्र थाहा हुने प्रवक्ता कोइराला बताउँछन् । 

त्यति वेला कारबाही गरिएका सांसदको नाम नटाँसेको भन्दै तत्कालीन सभामुख अग्निप्रसाद सापकोटालाई समेत विपक्षी बनाई एमालेले रिट दायर गरेको थियो। सोही विषयलाई लिएर सभामुखको हकमा निर्देशनात्मक आदेश भएको हो। 

त्यति वेला एमालेबाट फुटेर माधवकुमार नेपाललगायत नेताले एकीकृत समाजवादी दल गठन गरेका थिए। सो पार्टी हाल अन्य पार्टीहरूसँग मिलेर नेपाल कम्युनिस्ट पार्टी बनेको छ । 
 

सुझावित समाचार