बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि उत्पीडनविरुद्ध फ्रान्समा प्रदर्शन

सोमबार, २१ पुष, २०८२
डिजिटल संस्करण

बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि भइरहेको उत्पीडनविरुद्धदिन फ्रान्सको पेरिसस्थित ऐतिहासिक रिपब्लिक स्क्वायरमा  विरोध प्रदर्शन भएको छ । बंगलादेश हिन्दु–बौद्ध–क्रिश्चियन युनिटी काउन्सिल, पेरिस तथा ब्युरो अफ ह्युमन राइट्स एन्ड जस्टिस को आयोजनामा भएको विरोध प्रदर्शनमा उल्ेख्य संख्यामा आप्रवासी बंगलादेशी हिन्दुहरूले सहभागिता जनाएका छन् । 

ब्युरो अफ ह्युमन राइट्स एन्ड जस्टिसका अध्यक्ष दिपन मित्रले अल्पसंख्यक भएकै कारण बंगलादेशमा एउटा समुदायलाई समाप्त पार्ने प्रक्रिया चलिरहेको आरोप लगाए । तथाकथित  धर्मनिन्दाको आरोपमा  त्यहाँका अतिवादी समूहले हत्या गरेका  दिपु चन्द्र दासका हत्याराहरूलाई कडा  सजाय हुनुपर्ने उनले माग गरे । मित्रसहितका वक्ताले बंगलादेशमा हत्या गरिएका खोकोन दास र अमृत मण्डलका घटनाहरूको पछि छानविन गर्न र दोषीहरुमाथि कारबाही गर्न माग गरे । 

विरोध सभामा सहभागीहरुले बंगलादेशको सुरक्षा फौजको हिरासतमा रहेका हिन्दु धर्मगुरु चिन्मय कृष्णदासको बिना सर्त रिहाइको माग गरेका थिए । उनीहरुले बंगलादेशलाई हिन्दुविहीन बनाउने षड्यन्त्र कार्यान्वयन भइरहेको आरोप लगाएका थिए ।  दुई बर्षअघि शेख हसिना सरकार पतन भएपछि विद्यालय, कलेज तथा विश्वविद्यालयका कम्तीमा १६९ जना हिन्दु शिक्षकहरूलाई जबर्जस्ती राजीनामा दिन बाध्य पारिएको वा पदबाट हटाइएको पनि बक्ताहरुले बताएका थिए ।  मित्रका अनुसार गत एक वर्षमा बंगलादेशमा कम्तीमा १८७ जना हिन्दुहरूको हत्या भएको, २२१ जना हिन्दु महिलाहरू बलात्कारको सिकार भएको तथा हजारौँ हिन्दुका घर र व्यवसायहरूमा आक्रमण, तोडफोड र आगजनी भएको छ ।

धर्मनिन्दाको आरोपमा हिन्दुहरूमाथि आक्रमण, हिन्दु मठ तथा मन्दिरहरू कब्जा गर्ने घटनाहरू बंगलादेशमा दैनिक जस्तै भइरहेको भन्दै उनीहरुले अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् । प्रदर्शनकारीहरुले पीडित हिन्दुहरूका लागि उचित न्याय र बंगलादेशमा हिन्दु अल्पसंख्यकमाथि भइरहेका सबै प्रकारका अत्याचार अन्त्यको माग गरेको छ ।
 

सुझावित समाचार