धनकुटाका उत्कृष्ट कृषकहरूलाई कृषि ज्ञान केन्द्रले नगदसहित सम्मान गरेको छ। कृषि ज्ञान केन्द्र धनकुटाले आयोजना गरेको कार्यक्रममा सातजना कृषकलाई कृषि प्रगतिमा योगदान गरेको भन्दै सम्मानपत्र र नगद प्रदान गरिएको हो।
सम्मानित कृषकहरूमध्ये चौबिसे गाउँपालिका– ५ का यम लिम्बू पहिलो स्थानमा रहे। उनले ६५ रोपनी जमिनमा १७७ मुरी धान खेती गरेर उत्कृष्टता हासिल गरेका छन्। उनलाई नगद पाँच हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको छ।
छथर जोरपाटी गाउँपालिका– ५ की डेगमाया लिम्बू दोस्रो भएकी छिन्। उनले १२ रोपनी क्षेत्रमा नाैवटा ग्रिनहाउस हाइटेक टनेलमा व्यावसायिक तरकारी खेती गर्दै आएकी छिन्। उनलाई नगद चार हजारसहित सम्मानपत्र प्रदान गरिएको छ।
पाख्रीबास नगरपालिका– ९ का हरिभक्त राई तृतीय घोषित भएका छन्। उनले ८० रोपनी जमिनमा अलैँची खेती गरी राम्रो आम्दानी हासिल गरेका छन्। उनलाई नगद तीन हजारसहित सम्मानपत्र प्रदान गरिएको छ।
त्यसैगरी, साँगुरीगढी गाउँपालिका– २ का लक्षिनध्वज लिम्बू, धनकुटा नगरपालिका– ८ का रत्नबहादुर राई, सहिदभूमि गाउँपालिका– ६ का गंगाराम राई र महालक्ष्मी नगरपालिका– ४ का दिर्गबहादुर पौडेललाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ। उनीहरूलाई जनही दुई हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ।
कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले आर्थिक वर्ष ०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार उत्कृष्ट कृषकहरूलाई सम्मान गरिएको जानकारी दिएका छन्।