जेन–जी आन्दोलनपछिको म्यान्डेटअनुसार राष्ट्रिय सभामा उनीहरूको प्रतिनिधित्व कति सम्भव हुन्छ ?
राष्ट्रिय सभामा प्रतिनिधित्वका लागि कानुनत: ३५ वर्ष उमेर पुगेको हुनुपर्छ । यस प्रावधानले गर्दा पनि राष्ट्रिय सभामा जेन–जी आन्दोलनपछि उनीहरूको उमेर समूहबाट प्रतिनिधित्व गराउन प्राविधिक हिसाबले सम्भव देखिन्न । सामान्यत: उमेरको यो सीमा राष्ट्रिय सभामा परिपक्व मानिस नै पुगून् भन्ने मनसायले राखेको देखिन्छ । त्यसैले, यसलाई सिनियरहरूको हाउस पनि भन्ने गरिन्छ । जेन–जी समूहलाई समेट्ने अन्य धेरै ठाउँ छन् । उनीहरूलाई स्थानीय तह, प्रदेश र संघको प्रतिनिधिसभामा धेरै ठाउँ दिन सकिन्छ । तर, राष्ट्रिय सभामै चाहिँ यो उमेर समूहको प्रतिनिधित्व गराउन सम्भव देखिन्न ।
आजको सन्दर्भमा राष्ट्रिय सभाका लागि आवश्यक योग्य र विशेषज्ञ मानिसलाई ल्याउन के गर्नुपर्ला ?
यसमा कस्ता मानिसको प्रतिनिधित्व गराउने भन्ने पार्टीका नेतृत्वको हातमा छ । खासगरी यतिखेर कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले पहल गर्नुभयो भने राष्ट्रिय सभामा देशको विविधता पनि समेटिन सक्छ, यसको चरित्रअनुसार योग्य र विशेषज्ञ व्यक्तिहरूको प्रतिनिधित्व पनि हुन सक्छ । अन्यथा, राष्ट्रिय सभा पार्टीहरूका लागि कार्यकर्ताहरूको आन्तरिक व्यवस्थापनको मञ्च बन्ने खतरा हुन्छ । यस्तो अवस्थामा राष्ट्रिय सभा पार्टीप्रति ‘लोयल’ मानिसहरू पुग्ने थलो बन्न पुग्छ ।
दलहरूले कसरत गरिरहेको गठबन्धन अंकगणित मात्र हो कि अहिलेको आवश्यकता सम्बोधन गर्ने प्रयास हो ?
दलहरूले गठबन्धन गरेको अवस्थामा उनीहरूबिच सिटको भागबन्डा नै महाभारत साबित हुनेछ । सिटको भागबन्डापछि कुनै एक पार्टीले जति सिट पाउँछ, त्यसमा पार्टीकै वर्चस्व रहन्छ । त्यसैले, यो गठबन्धन बन्नु या नबन्नुले तात्विक रूपमा ठुलो परिवर्तन ल्याउलाजस्तो लाग्दैन ।