विश्वकपका खेल भारतबाट श्रीलंकामा सार्न बंगलादेशको माग

सोमबार, २१ पुष, २०८२
डिजिटल संस्करण

भारतसँगको राजनीतिक सम्बन्ध बिग्रन थालेपछि बंगलादेशले आसन्न आइसिसी पुरूष टी–२० विश्वकपका आफ्ना खेल श्रीलंकामा सार्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)सँग माग राखेको छ । अर्को महिना भारत र श्रीलंकाले संयुक्त रूपमा टी–२० विश्वकप गर्दै छन् । टी–२० विश्वकपमा बंगलादेशका खेलहरू कोलकाता र मुम्बईमा छन् ।

इन्डियन प्रिमियर लिग (आइपिएल)को टोली कोलकाता नाइट राइडर्सबाट बंगलादेशी फास्ट बलर मुस्ताफिजुर रहमानलाई निकालिएपछि दुई राष्ट्रबिच विवाद उत्पन्न भएको हो । बंगलादेशले विश्वकपमा आफ्ना सुरुवाती तीन खेल कोलकातामा खेल्नेछ ।

पछिल्लो घटनाक्रमपछि भारतमा आफ्ना खेलाडी सुरक्षित नहुने भन्दै बंगलादेशले आइसिसीलाई पत्र लेख्दै आफ्ना सबै खेल श्रीलंकामा राख्न माग राखेको एजेन्सीले जनाएको छ । बंगलादेश क्रिकेट बोर्डको शनिबार बसेको आकस्मिक बोर्ड बैठकले कुनै पनि हालतमा आफूहरू भारतमा प्रतिस्पर्धा नगर्ने निर्णय गरेको थियो । 

मिडिया कमिटीका अध्यक्ष अमजद हुसेनले भारतमा बंगलादेश टोलीको सुरक्षालाई लिएर गम्भीर आशंका व्यक्त गरेका छन् । ‘एक बंगलादेशी खेलाडीले सम्झौता भएर पनि खेल्न पाउँदैनन् भने हाम्रो पूरा टोली कसरी सुरक्षित छ,’ उनले भने, ‘त्यसैले आइसिसीसमक्ष बंगलादेशका खेलहरू श्रीलंकामा सार्न बोर्डले माग गरेको छ ।’ 

कोलकाताले आइपिएलको अक्सनमा मुस्ताफिजुरलाई ९.२ करोड भारुमा किनेको थियो । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)को निर्देशनमा मुस्ताफिजुरलाई कोलकाताले टोलीबाट निकालेको हो ।

पछिल्लो घटनाक्रमअनुसार नेपाल र बंगलादेशबिचको खेल पनि मुम्बईको वानखडे रंगशालामा नहुन सक्छ । बंगलादेशको समूहमा नेपाल पनि छ । नेपाल र बंगलादेशबिचको खेल ५ फागुनमा छ । बंगलादेशको मागअनुसार यो खेल अब श्रीलंका सर्न सक्नेछ ।

See More On

सुझावित समाचार