जन्मेको एक महिनादेखि नै कलेजोमा गम्भीर समस्या देखिएपछि सातमहिने नाबालक छोरालाई उनका बाबु कलेजो दिन तयार छन् । तर, प्रत्यारोपणका लागि चाहिने लाखौँ रकम जुटाउन समस्या भएकाले आर्थिक सहयोगको याचना गरेका छन् ।
सप्तरीको सुरुंगा नगरपालिका– २, भेडिया गाउँका आशिष कार्की र रमा बस्नेतले सातमहिने छोरा आरबको कलेजो प्रत्यारोपणका लागि आर्थिक सहयोग गर्न अनुरोध गरेका हुन् । दोस्रो सन्तानको रूपमा गत १४ जेठमा जन्मिएका आरबमा करिब एक महिनापछि नै दूधसमेत नपच्ने समस्या देखिएपछि विराटनगर नर्सिङ होम, काठमाडाैं महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचार भएको थियो । रोग पहिचान र थप उपचारमा मात्र १० लाखभन्दा बढी खर्च भइसकेको कार्कीदम्पतीले सुनाए ।
‘त्यति रकम जुटाउन पनि आफन्तको सहयोग, ऋणसापटीसहित घरको वस्तुभाउ बेचिसकेँ,’ बाबु आशिषले भने, ‘छोरालाई कलेजो दिन तयार छु । तर, प्रत्यारोपणका लागि ७०–७५ लाख रुपैयाँ चाहिने भनिएको छ । घरबारी, जायजेथा बेच्दा पनि त्यति रकम पुग्दैन ।’ उनका अनुसार नेपालमा उपचार सम्भव नभएपछि पुनः ऋण सापटी गरेर छोरालाई पछिल्लो सातादेखि भारतको हरियाणा राज्यअन्तर्गत गुरुग्रामस्थित नारायण स्पेसियलिटी हस्पिटलमा भर्ना गरिएको छ ।
‘त्यति धेरै रकम जुटाउने सामर्थ्य नै पुग्दैन,’ टेलिफोनमा भक्कानिँदै उनले भने, ‘मानवताको नाताले मेरो नाबालक छोराको उपचारमा सकेको सहयोग गरी पुनर्जीवन दिन आग्रह गर्छु ।’ उनका अनुसार नाबालक छोरालाई आफ्नो कलेजो प्रत्यारोपणका गर्न कागजी प्रक्रिया चलिरहेको छ । ‘त्यसका लागि भारतस्थित नेपाली राजदूतावासबाट कागजात बनाएर पुनः स्थानीय अदालतबाट अनुमति लिएपछि बल्ल हस्पिटल बोर्डले पारित गरेपछि प्रमाणीकरण हुन्छ । यसपछि प्रत्यारोपणको प्रक्रिया अगाडि बढ्ने रहेछ ।’