आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आंकाक्षी धेरै भएपछि उम्मेदवार चयन गर्न एमाले कञ्चनपुर–२ ले चुनाव गराएको छ।
एमाले कञ्चनपुर–२ कमिटीको बैठकले पार्टी केन्द्रले तोकेअनुरूप दुईजना पुरुषसहित एक महिला उम्मेदवार छान्न नसकेपछि आइतबार चुनाव गरेको थियो । चुनावबाट वेदकोट नगरपालिकाका पूर्वमेयर अशोककुमार चन्द, पूर्वसांसद नरबहादुर धामी र महिला नेतृ पार्वती जोशीलाई छनोट गरी सिफारिस गरेको छ।
एमाले कञ्चनपुरका युवा नेता प्रविन बोगटीले आकांक्षी बढी देखिएकाले सर्वसम्मत उम्मेदवार छनोट गर्न नसकेपछि चुनावी प्रक्रियाबाट छानेको बताए । उनका अनुसार क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि अशोककुमार चन्द ६१ मत र नरबहादुर धामीले ५७ मत र महिलातर्फ एमाले नेतृ पार्वती जोशी ४४ मतका साथ निर्वाचित भएका छन् । कुल ९५ मतदातामध्ये ८४ मत खसेका थिए ।
चन्द ०७४ मा बेदकोट नगरका मेयर हुन् । धामी यसअघि ०७०, ०७४ र ०७९ मा टिकट पाइसकेका नेता हुन् । ०७४ मा तत्काकालीन माओवादीसँगको गठबन्धन भएपछि एमाले नेता धामीले जितेका थिए।
०७९ मा बेदकोट नगरको उपमेयरकी उम्मेदवार पार्वती जोशी नगरमा पराजित भएकी थिइन् । एमाले कञ्चनपुरकै नेतृत्व हाकिरहेकी पार्टी जिल्ला कमान्डर लक्ष्मी बुढालाई भने आफ्नै पार्टीका नेता कार्यकर्ताहरूले पत्याएनन् ।