वसन्तपुर–गुफा जोड्ने सडक तीन दशकदेखि अलपत्र, पर्यटन प्रवर्द्धनमा धक्का

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

तीनजुरे–मिल्के–जलजले क्षेत्रको मुख्य प्रवेशद्वार मानिने वसन्तपुर–गुफा सडक तीन दशक बितिसक्दा पनि उस्तै जीर्ण अवस्थामा छ । पर्यटन, व्यापार र विभिन्न जिल्ला जोड्न महत्त्वपूर्ण मानिएको यो सडक २०५० सालतिर शिलान्यास गरिएको हो । तर, झन्डै ३२ वर्ष बित्दा पनि ट्रयाक खोलिएकोबाहेक उल्लेख्य स्तरोन्नति हुन सकेको छैन ।

तेह्रथुमको वसन्तपुरदेखि गुफापोखरी हुँदै ताप्लेजुङको साँघु र सदरमुकाम फुङलिङसम्म पुग्ने यो सडक तेह्रथुम र ताप्लेजुङ जोड्ने छोटो र रणनीतिक मार्ग मानिन्छ। सडक सहज भएमा पाथीभरा, ताप्लेजुङको फुङलिङ बजार, फुङफुङे झरनालगायत ताप्लेजुङका धार्मिक तथा पर्यटकीय गन्तव्यसम्म पुग्ने पर्यटकको संख्या बढ्ने स्थानीयको विश्वास छ । तर, अहिलेको अवस्थामा भने यात्रु र सवारीचालक दुवै यो मार्ग प्रयोग गर्न हिच्किचाउने गरेका छन् ।

सडकका अधिकांश खण्डमा खाल्टाखुल्टी छन् । हिउँदमा अत्यधिक धुलो उड्छ भने बर्खायाममा सडक हिलाम्मे हुन्छ । कतिपय स्थानमा सडक साँघुरो र भासिने खालको हुँदा सवारी चिप्लिने र दुर्घटना हुने जोखिम सधैँ रहन्छ । सामान्य वर्षा भए पनि सडक अवरुद्ध हुने अवस्थाले तेह्रथुम र ताप्लेजुङबिचको आवतजावत प्रभावित हुँदै आएको छ ।

वसन्तपुरदेखि गुफापोखरीसम्म करिब २८ किलोमिटर दूरी रहेको यस सडकको खराब अवस्थाले गुफापोखरी मात्र होइन, तीनजुरे–मिल्के क्षेत्रभित्र पर्ने पाँचपोखरी, मंगलबारे, चौकीलगायतका पर्यटकीय स्थल र ताप्लेजुङतर्फका गन्तव्यसमेत प्रभावित बनेका छन् । गुराँस फुल्ने मौसम, हिउँ पर्ने समय र चाडपर्वमा पर्यटकले भरिने यी क्षेत्रहरू अहिले क्रमशः सुनसान बन्दै गएका छन् ।

सुनसरीको इटहरीबाट धरान, धनकुटा, वसन्तपुर, मिल्के तथा गुफापोखरी हुँदै ताप्लेजुङ घुम्न आएका पर्यटकहरू प्राकृतिक सौदर्यता  अत्यन्तै सुन्दर लाग्छ, तर सडककै कारण यात्रा कठिन हुने गरेको बताउँछन् । धेरैजसो पर्यटक आधा बाटोबाटै फर्किने गरेको स्थानीयहरू बताउँछन् । यही अवस्था रहे ताप्लेजुङका धार्मिक र प्राकृतिक गन्तव्यसम्म पुग्ने पर्यटक संख्या थप घट्ने स्थानीयको चिन्ता छ ।

सडकको दुरवस्थाले सवारीचालकहरू पनि मारमा परेका छन् । सुनरीको धरानदेखि वसन्तपुर हुँदै ताप्लेजुङको मैवाखोला– १ तेल्लाबुङसम्म बस सञ्चालन गर्दै आएका जीवन खतिवडा सडक बिग्रेकै कारण गाडी पटक–पटक बिग्रिने तथा मर्मत खर्चमै आम्दानी सकिने बताउँछन् । ‘बर्खायाममा त सामान्य पानी पर्दा पनि गाडी चलाउन सकिँदैन,’ खतिवडाले बताए ।

सुरुमा वसन्तपुर–गुफा सडक आयोजनाले, त्यसपछि तत्कालीन जिल्ला विकास समिति तेह्रथुमले र हाल सडक डिभिजन कार्यालय धनकुटा तथा संखुवासभाले यो सडकको जिम्मेवारी लिँदै आएका छन् । तर, जिम्मेवारी फेरिँदै गए पनि सडकको अवस्था भने जस्ताको तस्तै छ । मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश बनेमले धेरैपटक अनुरोध गर्दासम्म मर्मतसम्भार नभएको जानकारी दिए ।

अध्यक्ष बनेमले सडक तेह्रथुम र ताप्लेजुङलाई जोड्ने मात्र नभई पर्यटन र व्यापारिक गतिविधिको आधार भएको बताए । यसले कञ्चनजंघा तथा पाथीभरालाई समेत जोड्ने गरेको उनकाे भनाइ छ। स्थानीय बासिन्दा, सवारीचालक र पर्यटन व्यवसायीहरूले वसन्तपुर–गुफा हुँदै ताप्लेजुङ जोड्ने यो सडक तत्काल स्तरोन्नति गर्न सरकारसँग माग गरेका छन् । सडक सुधार भएमा लालीगुराँसको राजधानी भनेर चिनिएको तीनजुरे–मिल्के–जलजले क्षेत्रसँगै ताप्लेजुङको पर्यटन पुनर्जीवित हुने र स्थानीय अर्थतन्त्र चलायमान हुने विश्वास लिएको छ । 
 

सुझावित समाचार