सर्लाहीको ईश्वरपुर नगरपालिकामा रहेको सारनाथ वन परियोजनाका चौकीदारको बीभत्स हत्या भएको छ ।
ईश्वरपुर नगरपालिका–२, राईटरखोर निवासी ४७ वर्षीय रामईश्वर महतोको शुक्रबार बीभत्स हत्या भएको हो । सागरनाथ वन परियोजनाको चौकीदार महतोको घाँटी काटेर टाउको छुट्याएको अवस्थामा १० नम्बर प्लटनजिकै शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईका अनुसार झाडीमा महतोको टाउको बाहेकको शरीर फेला परेको थियो ।
वन तस्कारले महतोको हत्या गरेको प्रहरीले आशंका गरे पनि यकिन कारण खुलेको छैन । महतो बिहान ५ बजेतिर वनमा रुख काटिरहेको भन्दै साइकलमा वनतर्फ लागेको परिवारको भनाइ छ । अबेरसम्म पनि सम्पर्कमा नआएपछि साँझ नै परिवारले खोजी गरेको ज्वाइ वीरबहादुर सिंहले बताए । खोज्ने क्रममा वनको झाडीमा महतोको शरीर फेला पारेको सिंहको भनाइ छ ।
परिवारले लगत्तै प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय केश्वरगंज, जिल्ला प्रहरी कार्यालय सर्लाही, लालगढबाट पुगेको कुकुरसहितको टोलीले घटनाको अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए । प्रहरीले अहिले महतोको टाउको खोजी रहेको जनाएको हो ।