पशुमा फैलिने खोरेत रोग नियन्त्रणको लागि बर्दियामा ४८ हजार पशुलाई खोरेत रोगविरुद्धको भ्याक्सिन लगाउन थालिएको छ । एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयले पालिकासँग सहकार्य गरेर पशुमा फैलिने खोरेत रोग नियन्त्रणको लागि ४८ हजार पशुलाई खोरेत रोगविरुद्धको भ्याक्सिन लगाउन थालिएको हो ।
खोरेत रोग भाइरसबाट गाई, भैँसी , बाख्रा ,बँदेल बंगुरलगायत जंगली जनावरमा फैलिने भयानक सरुवा रोग हो । यो रोग महामारीको रूपमा देखा पर्ने हुन सक्छ । यो रोगबाट धेरै जनावर लागे पनि रोगका कारण मृत्यु हुने पशुको संख्या निकै कम हुन्छ ।
एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयले चालू आर्थिक वर्ष २०८२/०८३ मा ४८ हजार पशुलाई भ्याक्सिन लगाउन गरि जनशक्ति परिचालन गरेको छ । त्यसैगरी, कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा ४० हजार पशुलाई र आर्थिक वर्ष २०८०/०८१ मा ४५ हजार पशुलाई खोरेत रोगविरुद्धको भ्याक्सिन लगाएको थियो ।
पशु सेवा अधिकृत डाक्टर रुपेन्द्रकुमार वलीले खोरेत लागेका पशुमा एक्कासि उच्च ज्वरो आउने, मुख र जिब्रो, गिजामा फोका र घाउ हुने, खुरको बिचमा वा खुट्टामा फोका आउने, धेरै र्याल बग्ने, दुधको उत्पादन घट्ने, लंगडोपन हुने, हिँड्न गाह्रो हुने, बच्चाको मुटुमा असर परेर पशु मर्न सम्भावना हुने बताए ।
खोरेत रोग हावापानी, दानापानी रोगी जनावरको प्रत्यक्ष सम्पर्क, रोगी जनावरको मासु, काँचो दूध रोगी जनावरको सम्पर्कमा रहेका मानिसबाट पशुमा सर्ने डाक्टर वलीले बताए ।
उनले भने," खोरेत रोगबाट गाई भैंसी लगायत पशुलाई बचाउन नियमित खोप लगाउने, पशुमा खोरेत देखा परेमा बिरामी जनावरलाई बथानबाट अलग राख्ने, गोठ र गोठमा प्रयोग हुने उपकरण राम्रोसँग सफा / डिसइन्फेक्सन गर्ने ,
रोगी जनावरसँग निरोगी जनावरलाई लसपस हुन नदिने,रोग फैलिएको बेला पशुको आवतजावत रोक्ने, र चरन क्षेत्रमा पशु लैजान बन्छ गर्नु पर्छ ।"
कहिलेकाहीँ कुनै निश्चित स्थानमा खोरेत रोग देखा परेमा त्यस स्थान वरिपरिको क्षेत्रका पशुलाई समेत भ्याक्सिन लगाउन पर्ने एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयले जनाएको छ । कार्यालयले भ्याक्सिन लगाउन आठै पालिकामा एकसाथ ४७ जना भ्याक्सिनेटरलाई परिचालन गरेको छ ।
सरकारले नेपालबाट सन् २०२५ सम्ममा खोरेत उन्मूलन गर्ने लक्ष्य लिएर काम गरिरहेको छ । खोरेत रोगको भ्याक्सिन लगाउन सन् २०१५ बाट थालेको छ ।