शुक्लाफाँटा स्थानीय सरकारद्वारा एमबिबिएसमा छात्रवृत्ति

शनिबार, १९ पुष, २०८२
डिजिटल संस्करण

कञ्चनपुरको एक स्थानीय सरकारले चिकित्सा शिक्षा(एमबिबिएस) अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ । जिल्लाको मध्य भूगोलमा रहेको शुक्लाफाँटा नगरपालिकाले एकीकृत प्रवेश परीक्षा (एमबिबिएस) उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । 

शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकेन्द्रराज भट्टले शुक्लाफाँटा नगरपालिका–७ का पुष्पराज भट्टलाई नगरपालिकाले एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको बताए । 

‘चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एकीकृत प्रवेश परीक्षा (एमबिबिएस) उत्तीर्ण भई योग्यताक्रम सूचीमा समावेश, नगरपालिकाभित्र बसोबास गर्ने एकजना जेहन्दार, गरिब तथा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्थाअनुसार पुष्पराजलाई छनोट गरिएको हो,’ उनले भने, ‘नगरपालिकाले एमबिबिएस छात्रवृत्तिका लागि मंसिर ३ गते आवेदन आह्वान गरेको थियो। जसमा पुष्पराजले आवेदन दिएर छनोट भएका हुन् ।’ 

छात्रवृत्ति प्राप्त विद्यार्थीले एमबिबिएस अध्ययन पूरा गरेपछि नगरपालिकामै चार वर्ष सेवा गर्नुपर्नेछ। पुष्पराजले बैजनाथ माध्यमिक विद्यालय, कसरौलबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा उत्तीर्ण गरेका थिए। नगरका प्रवक्ता लालबहादुर ऐरले  नगरपालिकाको १८५ औँ कार्यपालिका बैठकले भट्टलाई एमबिबिएस छात्रवृत्ति दिने निर्णय भएको बताए । प्रवक्ता ऐरका अनुसार नगरपालिकाले प्रत्येक वर्ष पुष्पराजलाई १० लाखका दरले छात्रवृत्ति उपलब्ध गराउनेछ र एमबिबिएस अध्ययन छात्रवृत्तिसम्बन्धी कार्यविधि–२०८० अनुसार पुष्पराजलाई छात्रवृत्ति प्रदान गरिएको छ। 

सामुदायिक विद्यालयमा अध्ययन गरेका, गरिब, विपन्न तथा जेहन्दार विद्यार्थीलाई एमबिबिएस अध्ययनतर्फ प्रोत्साहन गर्ने र नगरस्तरमै एमबिबिएस डाक्टर उत्पादन गरी नगरवासीलाई दिगो तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको बताए । शुक्लाफाँटा नगरका मेयर रणबहादुर महराले नगरपालिकाले गरिब, जेहेन्दार विद्यार्थीलाई उच्च शिकित्साशास्त्र अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै नगरकै स्थानीयलाई उच्च स्वास्थ्य शिक्षा प्रदान गरेर गाउँमै सेवा प्रदानका लागि जनशक्ति प्रदान गर्न लागेको बताए ।

मेयर महराका अनुसार दक्ष चिकित्सक शिक्षासँगै अन्य शिक्षा क्षेत्रमा समेत छात्रवृत्तिका कार्यक्रम सञ्चाचालन गर्दै समाजका लागि आवश्यक जनशक्ति तयार गर्न लागेको बताए। मेयर महराले निर्वाचनकै वेला घोषणापत्रमा समेत चुनावी एजेन्डा बनाएर अघि बढ्ने बताए। अहिलेको आफूहरूले बनाएको मापदण्डअनुरूप २ मध्ये १ जना विद्यार्थीलाई पढाइदिने बताए । 

चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एकीकृत प्रवेश परीक्षामा पुष्पराजले २५०८औँ योग्यताक्रममा छनोट भएका छन । छात्रवृत्ति पाएका पुष्पराज भट्टले  एमबिबिएस अध्ययनका लागि पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेज छनोट गरेको बताए। ‘त्यहाँ छनोट हुने करिब ८० प्रतिशत सम्भावना छ,’ उनले भने, ‘मलाई योग्य ठानी छात्रवृत्तिका लागि छनोट गर्नुभएकोमा नगरपालिकाप्रति धन्यवाद व्यक्त गर्दछु, मेहनतका साथ अध्ययन गर्नेछु।’ एमबिबिएस अध्ययन पूरा गरी दक्ष चिकित्सक बनेर आफ्नै नगरपालिकाका नागरिकलाई सेवा दिने लक्ष्य रहेको उनले बताए। ‘आर्थिक अवस्थाका कारण एमबिबिएस अध्ययन मेरो परिवारका लागि निकै चुनौतीपूर्ण थियो,’ उनले भने, ‘नगरपालिकाबाट प्राप्त यो छात्रवृत्तिले मेरो चिकित्सक बन्ने सपना साकार पार्न सहज बनाएको छ।’ 

सुझावित समाचार