बागलुङ महोत्सव : पुरुष भलिबलमा होटेल समिट र काठखोलाको विजयी सुरुवात

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण

आठौँ बागलुङ महोत्सवको अवसरमा आयोजित गण्डकी प्रदेश खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा काठेखोला गाउँपालिका र होटेल समिट बागलुङले विजयी सुरुवात गरेका छन् ।

शुक्रबार भएको पहिलो खेलमा काठेखोला गाउँपालिकाले बागलुङलाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । संघर्षपूर्ण खेलमा ३-२ सेटमा काठेखोलाले जित निकालेको हो ।

महोत्सवको मुख्य आकर्षणको रूपमा रहेकाे खेलमा पहिलो र दोस्रो सेटमा जित हात पारेको काठेखोलाले तेस्रो र चौथो सेट लज्जास्पद रूपमा बागलुङ नगरपालिकालाई सम्पियो । १५ अंकमा निर्णय हुने पाँचौँ निर्णायक सेटमा संघर्षपूर्ण जित निकाल्दै खेलको नतिजा आफ्नो पक्षमा पारेको हो । काठेखोलाले पहिलो सेट २५-१८ ले जित्यो । दोस्रो सेट २६-२४ को संघर्षपूर्ण जित हात पारेको थियो । बागलुङ नगरपालिकाले २४-२१ को स्थिति बनाए पनि अन्तिम अंकमा रोक्दै काठेखोलाले जित निकाल्न सफल भएको थियो ।

काठेखोलाले लगातार ५ अंक जोड्दा १ अंक पनि जोड्न नसक्दा बागलुङ नगरपालिकाले सेट गुमाउन पुगेको थियो ।  दोस्रो सेटमा जित्ने मौका हुँदाहुँदै गुमाएको बागलुङ नगरपालिका तेस्रो सेटमा आइपुग्दा ज्यादा आक्रामक देखियो । पाएका अवसरहरूलाई धमाधम अंकमा रूपान्तरण गर्दै २५-१३ मा तेस्रो सेटको जित बागलुङ नगरपालिकाले निकाल्यो । चौथो सेट २५-२१ ले जितेको बागलुङ नगरपालिका पाँचौँ सेटमा गएर सम्हालिन सकेन र १५-३ को स्थितिमा सेटसँगै खेलको नतिजासमेत काठेखोला गाउँपालिकालाई सुम्पियो । 

शुक्रबार नै भएको दोस्रो खेलमा बिहुँकोट स्पोर्टसलाई पाखा लगाउँदै होटेल समिट बागलुङले अघिल्लो चरणको यात्रा तय गरेको छ । होटेल समिटले बिहुँकोट स्पोर्टसलाई ३ सेटमा पराजित गरेको हो । पहिलो सेट २५-१२ ले गुमाएको बिहुँकोट स्पोर्टसले दोस्रो सेटमा भने होटेल समिटलाई राम्रै प्रतिस्पर्धा दियो । दोस्रो सेट ३०-२८ ले होटल समिटले जितेको थियो । दोस्रो सेट संघर्षपूर्ण भए पनि तेस्रो सेटमा होटेल समिटले खेललाई आफ्नो नियन्त्रणमा राख्दै २५-२२ ले जित्दै खेलको नतिजा आफ्नो पोल्टामा पारेको हो । 

शुक्रबार नै तय भएको अर्को खेलमा जैमिनी नगरपालिका उपस्थित नभएपछि नेपाल विद्यार्थी संघ बागलुङ सोझै अघिल्लो चरणमा प्रवेश गरेको छ । बागलुङ महोत्सवको अवसरमा आयोजना गरिएको पुरुष भलिबल प्रतियोगिता बेस्ट अफ फाइभ नकआउट सिस्टमका आधारमा खेलाइएको हो । शनिबार दोस्रो चरणको खेलहरू सञ्चालन हुनेछन् ।

दोस्रो चरणमा नेपाल विद्यार्थी संघविरुद्ध कुश्मा नगरपालिका, मेरो डेन्टल होमविरुद्ध रायडाँडा खेलकुद विकास समिति, काठेखोला गाउँपालिकाविरुद्ध गलकोट नगरपालिका र होटेल समिट बागलुङविरुद्ध मालिका युथ क्लबबिच हुने भलिबल प्रतियोगिताका संयोजक अकिलबहादुर क्षेत्री ध्रुवले जानकारी दिए । बागलुङ महोत्सवको मुख्य आकर्षण रहेको पुरुष भलिबल प्रतियोगितामा विभिन्न १४ समूहले भाग लिएका छन् ।

गण्डकी प्रदेश पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा सम्बन्धित पालिका र जिल्लाबाहिर गण्डकी प्रदेशका दुईजना खेलाडी टिममा समावेश गर्न पाइने भएकाले खेल निकै नै रोचक हुने अनुमान गरिएको छ । प्रतियोगितामा भाग लिने सम्पूर्ण खेलाडी एउटै पालिकाको हुनुपर्ने र दुईजना मात्रै सम्बन्धित पालिका रहेकोभन्दा बाहिरी जिल्ला गण्डकी प्रदेशभित्रको हुनुपर्ने आयोजकले जनाएको छ । 

प्रतियोगितामा गण्डकी प्रदेशबाट राष्ट्रिय प्रतियोगितामै नाम कमाउन सफल हिमाल सुनारीलगायत खेलाडीलाई ल्याउनका लागि बागलुङका टिमले आफ्नो समूहमा नाम दर्ता गराएका छन् ।

प्रतियोगितामा उपाधि विजेता टिमले नगद दुई लाख एक हजार पाँच सय, द्वितीय हुनेले नगद एक लाख २१ हजार पाँच सय, तृतीयले ४४ हजार पाँच सय र सान्त्वना हुने टिमले २२ हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । साथमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने सबै समूहलाई मेडल, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । 

महोत्सवमा खुला राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता, खुला महिला भलिबल प्रतियोगिता, पन्चेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भाले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तृत्वकला, डाेरी तान्ने, घैँटोफोर प्रतियोगितालगायत विभिन्न झाँकी प्रदर्शनी र राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति आयोजना गरिनेछ ।

सुझावित समाचार