पुस महिनाको कठ्यांग्रिने जाडो, दिनभरि लागेको बादल र चिसो सिरेटोले कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ प्रगतिनगरमा रहेको एउटा झुपडीभित्रको जीवन झनै असह्य बनेको छ। छेउमै छिमेकीका तीनतले पक्की घरहरू हाँसीखुसी जीवनको साक्षी बनेका छन्, तर तिनै घरको छायामा लक्ष्मी परियारको परिवार चिसोले कठ्यांग्रिँदै रात कटाउँछ।
झुपडी घर चुहिन्छ। भुइँ चिसो छ, सिरेटो पस्छ। न्यानो कपडाको अभावले लक्ष्मी परियार र उनका सन्तानलाई जाडो छल्ने कुनै उपाय छैन। ‘जाडोमा कठ्यांग्रिनुबाहेक हाम्रो अर्को विकल्प छैन। न न्यानो कपडा छ,’ लक्ष्मी भन्छिन्, ‘बादल लागेको दिन र चिसो हावा चलेको रात त झन् सहनै सकिँदैन।’
श्रीमान् भीमबहादुर परियारको मृत्युपछि परिवारको सम्पूर्ण जिम्मेवारी ५८ वर्षकी लक्ष्मीको काँधमा आएको छ। बुढेसकालमा सन्तानको सहारामा बस्ने सपना उनले देखेकी थिइन्, तर उनका चारै सन्तान जन्मजात शारीरिक रूपमा फरक क्षमताका हुँदा त्यो सपना कहिल्यै पूरा हुन सकेन। जेठो छोरा शंकर उपचार अभावकै कारण पाँच वर्षअघि बिते। माहिलो छोरा रामप्रकाश, साहिँलो अनुराम र कान्छी छोरी संगीता तीनैजनाको कम्मरमुनिको भाग चल्दैन।
सम्पत्तिको नाममा नटुवा बस्तीनजिकैको सुकुम्बासी बस्तीमा रहेको लालपुर्जाविहीन झुपडी घर मात्रै छ। वर्षातमा चुहिने र जाडोमा कठ्यांग्रिने यही घरमा उनीहरूको जीवन अड्किएको छ। ‘हामी गरिबका दुःख कहिल्यै घट्दैन रहेछ,’ रसिला आँखा लिएर लक्ष्मी भन्छिन्, ‘न सम्पत्ति छ, न सन्तान सपांग।’ श्रीमान् बित्दा परिवारका कसैको पनि नागरिकता नहुँदा झनै समस्या थियो। स्थानीय समाजसेवी र जनप्रतिनिधिको पहलमा परिवारले नै नागरिकता पाएका छन्। एउटा संस्थाको सहयोगमा चलाएको सानो घुम्ती पसल, तीन सन्तानले पाउने मासिक भत्ता र लक्ष्मीको मजदुरी नै परिवारको जीविकाको आधार बनेको छ।
शारीरिक अवस्थाका कारण रामप्रकाश आफैँ घुम्ती पसलसम्म जान सक्दैनन्। छिमेकी युवाहरूले दिनभर उनलाई पसलमा लगेर राखिदिने गरेका छन्। यसअघि घरको कच्ची शौचालय भत्किएर प्रयोग नै गर्न नसकिने अवस्थामा पुगेपछि इस्लामी रिलिफको सहयोगमा लिडो नेपाल नामक संस्थाले अपांगमैत्री शौचालय निर्माण गरिदिएको छ। संस्थाका अध्यक्ष अतर कमाल भन्छन्, ‘उनाीहरूको अवस्था देख्दा साह्रै टिठ लाग्यो। नागरिकता बनाउनेदेखि शौचालय निर्माणसम्म सबैले मिलेर सहयोग गरेका हौँ। तर, यो परिवारलाई अझै धेरै सहयोग चाहिन्छ।’
लिडो नेपालका कार्यक्रम प्रबन्धक सुशीलकुमार चौधरीका अनुसार शौचालयको समस्या त टरेको छ, तर परिवारको समग्र अवस्था अत्यन्तै नाजुक रहेको बताउँछन्। केही वर्षअघि शुद्धोधन गाउँपालिकाले रामप्रकाशलाई बजार जान सहज होस् भनेर चारपांग्रे स्कुटर सहयोग गरेको थियो। तर, इन्धन हाल्ने आम्दानी नहुँदा स्कुटर प्रयोगविहीन बनेको छ। ‘पढ्न, लेख्न र घुम्न हामीलाई पनि रहर त लाग्छ,’ कान्छी छोरी संगीता भन्छिन्, ‘तर, न शरीरले साथ दिन्छ, न त हाम्रो आफ्नै केही छ।’ माइलो छोरा रामप्रकाशको चाहना पनि साधारण छ– सानो भए पनि पक्की घर बनाइदिन कसैले सहयोग गरिदिए जीवन जसोतसो चल्थ्यो।’