बंगलादेशकी पहिलो महिला प्रधानमन्त्री बेगम खालिदा जियाको मंगलबार बिहान ढाकामा निधन भयो । राष्ट्रपति जियाउर रहमानको मृत्युपछि पत्नि जियाले रहमानले खोलेको दल ‘बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)’ लाई सृदृढ बनाइन् । जिया तत्कालीन राष्ट्रपति हुसेन मुहम्मद एर्सादको तानाशाहीको अन्त्य गर्न र १९९१ को चुनावमार्फत बंगलादेशलाई लोकतान्त्रिक ट्र्याकमा फर्काउन सेख हसिनासँग मिलेर अघि बढेकी थिइन् । तर बिएनपी शासनकालमा भारतसँग बंगलादेशको सम्बन्ध कहिल्यै सहज भएन ।
सन् २०२५ को क्रिसमसको दिन जियाका छोरा तारिक रहमानको स्वदेश फिर्ती र अहिले आमा बेगम खालिदा जियाको निधनले बिएनपीलाई आगामी फेब्रुअरीमा हुने बंगलादेशको आमचुनाव जित्ने स्थितिमा पुर्याएको छ । यद्यपि, बिएनपीप्रति छापा, इलेक्ट्रोनिक र सामाजिक सञ्जालका माध्यमद्वारा उत्पन्न मिडिया प्रचारमा बहकिनु आवश्यक छैन । किनकि, अधिकांश सञ्चार माध्यम युनुस शासनद्वारा पूर्ण रूपमा नियन्त्रित र व्यवस्थित छन् ।
बिएनपी र जमात
बिएनपी र जमात–ए–इस्लामी सन् २००१ देखि राजनीतिक सहयोगी छन् । सन् १९७२ मा सेख मुजिबुर रहमानको नेतृत्वमा अपनाइएको बंगलादेशको संविधानमा लोकतन्त्र, धर्मनिरपेक्षता, समाजवाद र राष्ट्रवादका चार स्तम्भ थिए । यसका साथै मुजिबुरले धर्ममा आधारित स्थापित राजनीतिक दललाई प्रतिबन्ध लगाए र मुक्ति युद्धको समयमा जमात–ए–इस्लामीका अमिर गुलाम आजमको नागरिकता रद्द गरे । उनी अल्पसंख्यक, महिला, बुद्धिजीवी र अवामी लिगलाई समर्थन गर्ने सबैविरुद्ध अनगिन्ती युद्ध अपराधका लागि जिम्मेवार थिए ।
सन् २०२५ को क्रिसमसको दिन जियाका छोरा तारिक रहमानको स्वदेश फिर्ती र अहिले आमा बेगम खालिदा जियाको निधनले बिएनपीलाई आगामी फेब्रुअरीमा हुने बंगलादेशको आमचुनाव जित्ने स्थितिमा पुर्याएको छ । तर, अवामी लिगविना हुने चुनाव सर्वस्वीकार्य हुने छैन भने बंगलादेशमा हाल अल्पसंख्यकविरुद्ध चलिरहेको हिंसा र क्रूरता जारी रहन सक्छ ।
राष्ट्रपति जियाको नेतृत्वमा यी सबै प्रावधान उल्ट्याइए । जनरल जियाको सैन्य शासनकालमा अगस्ट १९७८ मा गुलाम आजम पाकिस्तानी राहदानीमा ढाका फर्किए । धर्मका आधारमा राजनीतिक दलमाथिको प्रतिबन्ध उल्ट्याइयो र १९७८ मा लागू गरिएको विशेष ‘नागरिकता ऐन’ले लामो कानुनी लडाइँपछि सन् १९९४ मा (बेगम खालिदा जिया प्रधानमन्त्री हुँदा) अदालतको आदेशमार्फत गुलाम आजमलाई अन्ततः आफ्नो बंगलादेशी नागरिकता पुनः प्राप्त गर्न कानुनी रुपरेखा प्रदान ग¥यो ।
राष्ट्रपति जिया (तारिक रहमानका बुबा) को नेतृत्वमा बंगलादेशको संविधानमा धर्मनिरपेक्षता शब्दलाई ‘सर्वशक्तिमान अल्लाहमा पूर्ण विश्वास’ भन्ने वाक्यांशले संशोधन गरिएको थियो । यसले राजनीतिक इस्लामलाई वैधता दिएको थियो । आज बिएनपी आफूलाई एक मध्यमधारको पार्टी भन्छ । यो बंगलादेशमा चुनाव सम्पन्न होस् भन्ने चाहन्छ । यसकै पहलमा युनुस सरकार निर्वाचनका लागि फेब्रुअरी २०२६ को मिति घोषणा गर्न बाध्य भयो । नत्र युनुसले चार वर्षसम्म चुनाव नगर्ने विचारमा थिए । उनी तथाकथित ‘सुधार प्रक्रिया’ पूरा भएपछि मात्र चुनाव गर्ने योजनामा थिए ।
बिएनपीभित्रकोे मध्यमार्गी धारले अवामी लिगको गतिविधिमा लगाइएको प्रतिबन्धको विरोध गरेको थियो (मे २०२५ मा युनुस शासनद्वारा लगाइएको) । त्यो समूह फेब्रुअरी २०२६ को चुनावमा अवामी लिगको सहभागितालाई समर्थन गर्छ । यद्यपि, बिएनपीभित्र यो गुटको स्थिति कमजोर छ र धेरै जमात–ए–इस्लामी समर्थक छन् । बिएनपी सदस्यहरूको आधाभन्दा बढी जमात–समर्थक रहेको अनुमान गरिन्छ ।
जमातसँग तारिकको निकटता
तारिक रहमान लगभग सधैँ बिएनपीको जमात समर्थक गुटसँग सम्बन्धित रहे । उनी १९८० को दशकको अन्त्यदेखि राजनीतिक रूपमा सक्रिय छन् । तर, आफ्नी आमा बेगम खालिदा जियाको दोस्रो कार्यकालमा (२००१ देखि २००६ सम्म जब जमात–ए–इस्लामी प्रमुख गठबन्धन साझेदार थियो) प्रसिद्धिमा आए । यस अविधिमा तारिकले वास्तविक पिएमओको रूपमा मान्यता प्राप्त शक्ति केन्द्र हवा भवन चलाए । चटगाउँ हतियार ढुवानीमा उनको भूमिका (अप्रिल २००४) र ढाकामा सेख हसिनाको राजनीतिक ¥यालीमा भएको ग्रेनेड आक्रमणमा (अगस्ट २००४) उनको संलग्नताबारे व्यापक रूपमा उल्लेख गरिएको छ ।
यद्यपि, प्रायः चर्चामा छुट्ने कुरा के छ भनेको यी प्रत्येक घटनाको योजनामा पाकिस्तानको संलग्नता थियो, जसमा राजधानी ढाका र विदेशमा तारिक रहमानसँगको बैठकमा सहभागिता समावेश छ । सन् २००९ पछि ढाकामा आयोजित कानुनी मुद्दामा यी कुरालाई जोड दिइएको थियो । बेगम खालिदा जियाको दोस्रो कार्यकाल(२००१–०६)मा बंगलादेशमा पाकिस्तानी गतिविधि इतिहासकै उच्चतमस्तरमा थियो । १९७१ को मुक्ति युद्धपछि पहिलोपटक त्यस्ता गतिविधि देखिएका थिए । लन्डनमा १७ वर्ष लामो निर्वासनका क्रममा रहमानको जमात–ए–इस्लामी र पाकिस्तानसँगको निकटता (आइएसआईमार्फत भएको भनिएको) बढाए, जुन अहिले पनि जारी छ । यसमा सन् २०२४ को जुलाई/अगस्टमा भएको शासन परिवर्तन अभियानको योजना र कार्यान्वयन पनि समावेश छ । त्यसैले, यदि फेब्रुअरी २०२६ को चुनाव अवामी लिगको सहभागिताविना बिएनपी र जमात–ए–इस्लामी प्रमुख दाबेदारको रूपमा सम्पन्न भयो भने पूर्वनिर्धारित परिणामको साथ ‘मैत्रीपूर्ण लडाइँ’को रूपमा मात्र वर्णन गर्न सकिन्छ ।
फेब्रुअरीको चुनावका लागि जमात–ए–इस्लामीले बंगलादेशका सबै इस्लामी दललाई एकसाथ ल्याउने दशदलीय गठबन्धन बनाएको छ । यसको दशौं सदस्य विद्यार्थी पार्टी अर्थात् एनसिपी (राष्ट्रिय नागरिक पार्टी) बनेको छ, जुन शासन परिवर्तन आन्दोलनमा सहभागी ‘विद्यार्थी नेताहरू’ द्वारा गठन गरिएको थियो ।
२०२५ को सेप्टेम्बर १३–अक्टोबर १२ को अवधिमा अमेरिकाको इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युट (आइआरआई)ले आगामी निर्वाचनको सम्भावित चित्रमाथि सर्वेक्षण गरेको थियो । आइआरआई सर्वेक्षणमा प्रश्न गरिएकामध्ये बिएनपीलाई ३३ प्रतिशत र जमानतलाई २९ प्रतिशतले समर्थन जनाएका थिए । यो सर्वेक्षणले आगामी निर्वाचनको प्रतिस्पर्धा निकै रोचक र तीव्र हुने देखाउँछ ।
सर्वेक्षणले इस्लामी आन्दोलन बंगलादेशलाई पाँच प्रतिशत र एनसिपीको पक्षमा ६ प्रतिशत देखाएको छ । अपेक्षा गरिएअनुसार आइआरआई सर्वेक्षणले जमातको नेतृत्वमा चुनावपछिको सरकारको पक्षमा दृढतापूर्वक समर्थन गर्छ । यदि यो भयो भने बिएनपीको जमात समर्थक गुटलाई सरकारमा समायोजन गरिनेछ । यदि बिएनपीले जमातभन्दा बढी सिट प्राप्त गर्यो भने जुन २०२५ मा लन्डनमा मोहम्मद युनुस र तारिक रहमानबिच भएको अन्तिम सम्झौताअनुसार देशमा शासन हुनेछ ।
त्यसअनुसार मोहम्मद युनुसलाई बंगलादेशको राष्ट्रपति, रहमानलाई प्रधानमन्त्री र जमात–ए–इस्लामीका अमिरलाई उपप्रधानमन्त्रीको रूपमा परिकल्पना गरिएको छ । यी प्रत्येक विकल्पले पाकिस्तानलाई बंगलादेशलाई १९७१ अघिको कमान्ड–एन्ड–कन्ट्रोल सम्बन्धमा फर्काउन पहिले नै सिर्जना गरिएको केन्द्रीय भूमिकालाई निरन्तरता दिने अवसर दिनेछ ।
भारतीय चासो
भारतले बारम्बार बंगलादेशमा निष्पक्ष, स्वतन्त्र र सामावेशी निर्वाचनबारे आवाज उठाउँदै आएको छ । अवामी लिग, जातीय पार्टी र अन्यलाई बिएनपी र जमातसरह चुनाव लड्न अनुमति दिनुपर्छ । योविना बंगलादेशका जनताले चुनावी नतिजालाई अस्वीकार गर्नेछन्, र अल्पसंख्यकविरुद्धको वर्तमान अराजकता, हिंसा र क्रूरता जारी रहनेछ । अहिलेसम्म तारिक रहमानले अल्पसंख्यकविरुद्धको अठार महिना लामो निरन्तर हिंसाविरुद्ध एक शब्द पनि खर्चेका छैनन् । दिपु चन्द्र दासको पाशविक हत्याबारे पनि एक शब्द बोलेनन् । अल्पसंख्यकले सन् २००१ को चुनावपछि खालिदा जिया शासनद्वारा उनीहरूविरुद्ध गरिएको हिंसालाई कहिल्यै बिर्सेका छैनन् ।
सेख हसिनाले बेगम खालिदा जियाको मृत्युमा शोक व्यक्त गर्दै यसलाई ‘अपूरणीय क्षति’ भनेर वर्णन गरेकी छिन् । यदि फेब्रुअरीमा हुने चुनावलाई अवामी लिग, जातीय पार्टी र अन्यसमेतको सहभागितामा स्वतन्त्र, निष्पक्ष र समावेशी हुन दिइयो भने यो बेगम खालिदा जियाको विरासतप्रति उपयुक्त श्रद्धाञ्जली हुनेछ । अवामी लिगको सहभागितामा लगाइएको प्रतिबन्धको कुनै वैधता छैन । मारिएका उस्मान सरिफ हादीको प्रशंसा गर्दै मुख्य सल्लाहकार मोहम्मद युनुसले आफूलाई पूर्ण रूपमा पक्षपाती भएको देखाएका छन् । अहिलेको आवश्यकता बंगलादेशमा स्वतन्त्र, निष्पक्ष, समावेशी र विश्वसनीय चुनावको सुनिश्चितता हो ।
(एनडिटिभीबाट)