छैटौँ टाइगर कप भलिबल ९ माघदेखि

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित छैटौँ टाइगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता ९ देखि १७ माघसम्म पोखरामा हुँदै छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने टाइगर कप पोखरा रंगशालास्थित भलिबल कोर्टमा आयोजना हुनेछ । महिला र पुरुषतर्फ समान सात टोलीले भाग लिने आयोजक गुप्रका अध्यक्ष नारायण शर्माले जानकारी दिए । यसपटक नेपालका १० र चार विदेशी टोली सहभागी हुनेछन् । 

महिलामा थाइल्यान्डका दुई टोलीले भाग लिने शर्माले बताए । थाइल्यान्डको युनाइटेड प्यासन भलिबल क्लब र थाइल्यान्ड क्विन्स रहेका छन् । पुरुषतर्फ माल्दिभ्स भलिबल एसोसिएसन क्लब र भारतको गुजरात भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ नेपाल पुलिस, त्रिभुवन आर्मी, नेपाल एपिएफ, न्यु डायमन्ड युथ स्पोर्टस् र एभरेस्ट भलिबल क्लब रुपन्देहीले प्रतिस्पर्धा गर्नेछन् । 

पुरुषतर्फ तीन विभागीय टोली उपाधिका लागि मुख्य दाबेदार हुनेछन् । नेपाल पुलिस, त्रिभुवन आर्मी, नेपाल एपिएफसँगै गण्डकी प्रदेश भलिबल संघ र पर्वत जिल्ला भलिबल संघले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ पहिलो संस्करणको उपाधि पुलिसले जितेको थियो । त्यसपछिका लगातार तीन संस्करण एपिएफले जित्यो । पाँचौँ संस्करणमा आयोजक टोलीले उपाधि चुमेको थियो । पुरुषतर्फ पहिलो संस्करणमा गण्डकी, दोस्रोमा आर्मी, तेस्रोमा गण्डकी, चौथोमा हेल्प नेपाल र पाँचौँमा नेपाल पुलिस क्लबले उपाधि हात पारेका थिए ।

पुरस्कार धनराशि बढ्यो
आयोजकले यसपटक पुरस्कार राशि वृद्धि गरेको छ । आयोजक समितिका सहसंयोजक डोलराज पोखरेलले पुरुष र महिलातर्फका विजेताको पुरस्कार धनराशि वृद्धि गरेको बताए । दुवैतर्फका च्याम्पियनले ६ लाख ६६ हजार रुपैयाँ हात पार्नेछन् । उपविजेताले तीन लाख ६६ हजार र तेस्रोले दुई लाख ६ हजार रुपैयाँ जित्नेछन् । गत वर्षको विजेताले समान पाँच लाख ८५ हजार र उपविजेताले दुई लाख ८५ हजार रुपैयाँ पाएका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २६ हजार रुपैयाँ जित्नेछन् । विधागततर्फ उत्कृष्ट हुने स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्डर र प्रशिक्षकले समान ११ हजार ६६६ रुपैयाँ पाउनेछन् ।

सुझावित समाचार