नेपाल सरकारका पूर्वश्रमसचिव केवल भण्डारीलाई ३ प्रश्न

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण

 भाषा परीक्षा उत्तीर्ण हुने युवाहरू पटक–पटक आन्दोलित हुने अवस्था किन आउँछ ?
कोरियाली श्रम बजारमा नेपाली युवाको आकर्षण बढी छ । कोरियाको श्रम बजार श्रमिकमैत्री छ । त्यहाँको सामाजिक सुरक्षा राम्रो छ । एकपटक गएपछि ५० महिना बस्न पाइन्छ । कमाइ पनि राम्रै छ । बदमासी र अनावश्यक खर्च नगरेमा फर्किंदा राम्रो रकम बचत हुन्छ । यही आकर्षणले गर्दा भाषा परीक्षामा मागभन्दा निकै बढी युवा सहभागी हुन्छन् । यता बढी युवा उत्तीर्ण भए पनि उताको मागअनुसार नै उनीहरूले कामदार लाने भएकाले सबै जान पाउने भन्ने हुँदैन । उनीहरूले हरेक देशका कामदारका लागि फरक–फरक निश्चित कोटा छुट्याएका हुन्छन् । नेपालका लागि पनि राम्रै कोटा छुट्याइएको छ । तैपनि, यहाँ भाषा परीक्षा उत्तीर्ण गर्नेजति सबैलाई पठाउन सक्ने अवस्था भने हुँदैन ।

 त्यसो भए मागभन्दा बढी संख्यामा परीक्षार्थीलाई किन उत्तीर्ण गराइन्छ त ?
भाषा परीक्षामा त निश्चित मापदण्ड पूरा गर्नेजति सबै उत्तीर्ण हुने नै भए । तर, एकपटकको परीक्षामा उत्तीर्ण भएकामध्येबाट पटक–पटक गरी दुई वर्षभित्र तोकिएको क्षेत्रमा निश्चित कामदार लगिन्छ । उताको माग ‘अनलिमिटेड’ हुँदैन । त्यसैले, जान नपाउनासाथ झगडा गरिहाल्नु, विरोध या आन्दोलन गरिहाल्नु ठिक होइन । उनीहरूले नेपाली कामदारलाई राम्रै मान्दै आएका छन् । दुई वर्षअगाडिको विरोध र युवाको मृत्युको घटनापछि भने उनीहरू अलि बढी सचेत भएको अवस्था छ । 

 भाषा परीक्षा उत्तीर्ण भएर पनि जान नपाएका युवाको भविष्य के होला ?
भाषा परीक्षा उत्तीर्ण हुँदैमा सबै जान पाउने सम्भावना हुँदै हुँदैन । यसरी पटक–पटक विरोध या आन्दोलन गर्न थालियो भने कोरियाली श्रम बजारमा यसको नकारात्मक प्रभाव पर्छ । आन्दोलनको खबर सञ्चार माध्यममा आउँछ । कोरियाली दूतावासले पनि रिपोर्ट गरिरहेको हुन्छ । यसले भविष्यमा कोटा कटौती हुने जोखिमसमेत हुन्छ ।  

सुझावित समाचार