बुढानीलकण्ठस्थित लेमन ट्री होटेलमा रहेको गरुढ क्यासिनोमा जुवा खेल्ने तथा खेलाउन पाँच नेपाली पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले क्यासिनोमा प्रयोग हुने चिप्ससहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको मेलम्ची–३ स्थायी घर भएका पशुपति खड्का, महोत्तरीको बर्दिबास–८ का दयाराम राना, काठमाडौं ६ का भरतराज पौडेल, दोलखाको मेलुङ नगरपालिका २ का सन्तोष भण्डारी र खोटाङका गणेशबहादुर मगर पक्राउ परेका हुन्। उनीहरूलाई जुवा खेल्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद लिई अनुसन्धान भइरहेको एसपी पवनराज भट्टराईले बताए। उनीहरूसँग प्रहरीले क्यासिनोको १८ वटा चिप्स बरामद गरेको छ। उनीहरूले अन्य नेपालीलाई पनि क्यासिनो छिराएर जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ। क्यासिनोमा नेपालीलाई जुवा खेल्न प्रतिबन्ध छ।