पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– १२, भटौलियास्थित कजरिया रमेश टायल्स उद्योगमा सुतिरहेकै अवस्थामा दुई मजदुरको शव भेटिएको घटनाको अनुसन्धान गर्ने सहमतिपछि शव उठेको छ।
उद्योग सिल गरेर घटनाको अनुसन्धान गर्ने सहमतिपछि शव उठेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुशील घिमिरेले जानकारी दिए। स्थानीय बासिन्दा, पीडित परिवार र प्रशासनबिच छलफलपछि उक्त सहमति भएको हो।
उनका अनुसार घटनाको मुचुल्का तयार पारी शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। परासी जिल्ला अस्पतालमा पोस्टमार्टमका लागि विशेषज्ञ चिकित्सक नभएकाले शवको फरेन्सिक जाँच गर्न प्रादेशिक अस्पताल बुटवल पठाइएको उनले बताए।
उद्योगको अवस्था र घटनास्थल हेर्दा निस्सासिएर मृत्यु भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। तथापि, पोस्टमार्टम रिपाेर्ट आएपछि मात्र थप कारबाही अघि बढ्ने सूचना अधिकारी घिमिरेले बताए।
गएराति उद्योगमा काम गरेर कोठामा सुतेका एक भारतीय र एक नेपाली मजदुरको मृत्यु भएको थियो। मृत्यु हुनेमा नवलपरासी बर्दघाट नगरपालिका– १३, धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्ला ६६ ग्राम पोस्ट बस्ने ३० वर्षीय विनोद कुमार रहेका छन्।
उद्योगमा ग्यास लिक भएर मजदुरहरूको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन्। उद्योगको लापरबाहीका कारण मजदुरको मृत्यु भएको भन्दै आक्रोशित मृतकका आफन्त र स्थानीयहरूले घटनाको छानबिन गर्न माग गर्दै दिनभर शव उठाउन दिएका थिएनन्। उद्योगले जाम भएको ग्यास खोल्न पठाएकोमा निस्सासिएर उनीहरूको मृत्यु भएपश्चात् घटना ढाकछोप गर्न नजिकै रहेको कोठामा लगेर सुताएको स्थानीय र आफन्तको आरोप छ।
उद्योगका जनसम्पर्क वरिष्ठ प्रबन्धक रमेश न्यौपानेले भने ग्यास लिक नभई कोठामा सुतेको अवस्थामा अक्सिजनको कमीले मजदुरहरूको मृत्यु भएको हुन सक्ने अनुमान गरे। मृतक दुवैजना ग्यासी फायर (अग्नि नियन्त्रण) प्लान्टमा काम गर्ने मजदुर हुन्।
उनीहरू उद्योगको ग्यासी फायरको पोकिङ फ्लोरमा एकै ठाउँमा गद्दा ओछ्याएर सुतेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अनुपम श्रेष्ठले जानकारी दिए। प्रहरीले मृतकहरूको शरीरमा बाहिरी कुनै चोट नदेखिएको जनाएको छ।