पूर्वविद्यार्थी नेता पन्त नेकपा कञ्चनपुर– २ बाट सिफारिस

बिहिबार, १७ पुष, २०८२
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टीले कञ्चनपुर निर्वाचन क्षेत्र २ बाट पूर्वविद्यार्थी नेता माधव पन्तलाई सिफारिस गरेको छ। नेकपाले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र २ बाट पन्तलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो । पन्तसँगै विद्यार्थी जेन–जी युवापुस्ताबाट तोयराज जोशी, महिला नेतृ युवाबाट दुर्गा भट्ट (जोशी) सहित पूर्वमन्त्री, सांसदलाई पनि सिफारिस गरेको छ। सुदूरपश्चिम प्रदेशका पूर्वसांसद महेशदत्त जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, पूर्वसांसद एवं संविधानसभा सदस्य हरिश ठकुल्ला (कमल क्षेत्री)लाई पनि सिफारिस गरेको छ । 

पन्त हाल त्रिभुवन विश्वविद्यालयबाट कूटनीतिक इतिहासमा विद्यावारिधि (पिएचडी) अध्ययनरत छन्। उनले अंग्रेजी विषयमा एमफिल, राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुन विषयमा एलएलबी उपाधि हासिल गरेका छन् । २४ वर्षदेखि राजनीतिमा सक्रिय पन्त ०७९ मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा शुक्लाफाँटा नगरको उपमेयरमा चुनाव लडेका थिए ।  

०५९ मा कक्षा १० मा अध्ययनरत रहँदा कृष्ण माध्यमिक विद्यालयबाट अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्षको जिम्मेवारी सम्हाल्दै राजनीतिक यात्रा सुरु गरेका पन्तले ०६२ मा सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियु उपसभापति निर्वाचित भए ०६४ मा स्ववियु सभापतिका उम्मेदवार बने। त्यसपछि ०६५ मा अनेरास्ववियु जिल्ला अध्यक्ष (कञ्चनपुर), त्रिभुवन विश्वविद्यालयमा अनेरास्ववियुको नेतृत्व तथा अनेरास्ववियु केन्द्रीय कमिटी उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गर्दै उनी निरन्तर विद्यार्थी र जनआन्दोलनमा सक्रिय रहँदै आएका छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयमा सम्बन्ध र विदेश नीतिका गेस्ट लेक्चरर पन्त दर्जनौँ युथ नेटवर्क र राजनीतिक एवं शैक्षिक अन्तर्राष्ट्रिय संगठनको नेतृत्वदायी भूमिका निर्वाह गर्दै गरेका पन्त अन्तर्राष्ट्रिय राजनीतिका जानकार, अध्ययनशील एवं शालीन युवा राजनीतिज्ञको छवि बनाएका युवाहरूको मन पर्ने युवा नेतृत्वको रूपमा उदाएका सुदूरका सम्भावना हुन् ।  

पन्त ऊर्जाशील, अध्ययनशील र अनुभवी युवा नेता हुन्। शुक्लाफाँटा नगरपालिका– ५, कञ्चनपुर स्थायी ठेगाना भएका ३८ वर्षीय युवा आन्दोलन, राजनीतिक शिक्षा, विज्ञान–प्रविधि, मानव अधिकार, लोकतन्त्र, सामाजिक न्याय, भू–राजनीति, विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय राजनीतिक शिक्षासम्बन्धी दर्जनौँ गोष्ठी, सेमिनार तथा सम्मेलनमा सहभागी हुँदै उनले संयुक्त राज्य अमेरिका, चीन, भारत, रुस, ब्राजिल, कोलम्बिया, क्युबा, भेनेजुएला, दक्षिण अफ्रिका, लेबनान, अजरबैजान, टर्की, संयुक्त अरब इमिरेट्स, कतारलगायत विभिन्न देशहरूको अनुभव संकलन गरेका छन् ।

सुझावित समाचार