सूर्य नेपाल सेन्ट्रल ओपन : लगातारको अग्रतासँगै राहुल उपाधिनजिक

बिहिबार, १७ पुष, २०८२
डिजिटल संस्करण

लगातार तेस्रो दिन पनि अग्रता बनाएका एमेच्योर गल्फर राहुल विश्वकर्मा सूर्य नेपाल गल्फ टुर २०२५/२६ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधिनजिक पुगेका छन् । गोकर्ण गल्फ क्लबमा तेस्रो दिनको खेल समाप्तिसम्म बुधबार साबिक विजेता राहुलले दोस्रो स्थानमा रहेका जयराम श्रेष्ठलाई ५ स्ट्रोकले पछाडि पारेका छन् । राहुलले समग्रमा १० अन्डर २०६ स्कोर बनाएका छन् । प्रोफेसनल गल्फर जयराम समग्रमा ५ अन्डर २११ स्कोर बनाउँदै दोस्रो स्थानमा उक्लिएका छन् । दोस्रो दिन दोस्रो स्थानमा रहेका भुवनकुमार रोकाले ४ ओभर ७६ मा खेल सकाए । उनी समग्रमा इभन पार ७२ सहित तेस्रो स्थानमा झरेका छन् ।

नेपालका एक नम्बर प्रोफेसनल खेलाडी नीरज तामाङ, भुवन नगरकोटी र एमेच्योर गल्फर रुबेन थापा संयुक्त रूपमा सातौँ स्थानमा रहेका छन् । पहिलो दिनदेखि शीर्षस्थानमा रहेका राहुलले फ्रन्ट नाइन इभन पार ३६ स्कोर गरेका थिए । उनले पहिलो, पाँचौँ र सातौँ होलमा बर्डी प्रहार गरे । तर, छैटौँ होलमा बोगी र ३ पारको आठौँ होलमा राहुलले डबल बोगीको सामना गरे । जसकारण उनले ब्याक नाइन १ ओभर ३७ स्कोर गरे । 

जयरामको लगातार तीन बर्डी
दोस्रो स्थानमा उक्लिने क्रममा जयरामले दोस्रो होलको बोगीविरुद्ध पहिलो, चौथो र सातौँ होलमा तीन बर्डी प्रहार गरेका थिए । उनले फ्रन्ट नाइनमा २ अन्डर ३४ खेले । त्यसपछि १२औँ, १३औँ र १७औँ होलमा समान एक सट बचाए । जयरामले १४औँ होलको बोगीले ब्याक नाइनमा २ अन्डर ३४ स्कोर गरेका थिए । भुवनले होलमा बर्डी प्रहार गरे पनि छैटौँ र आठौँ होलको बोगीले फ्रन्ट नाइन १ ओभर ३७ स्कोर गरे । उनले ब्याक नाइनमा झनै खराब प्रदर्शन गरेका थिए । १२औँ होलमा इगलको सफलता प्राप्त गरेका उनले १४औँ होलमा डबल बोगी सामना गरे । खेलको १३औँ, १६औँ र १८औँ होलमा भुवनले समान एक सट खेर फाले । उनले ब्याक नाइन ३ ओभर ३९ को खेल प्रदर्शन गरे । 

सुझावित समाचार