बौद्ध सभ्यता र इतिहासको केन्द्र मानिने प्राचीन कपिलवस्तुको पहिचानलाई अझ जीवन्त बनाउने उद्देश्यले भिक्षु चोकमा निर्माण गरिएको चौमुखे गेटमाथि गौतम बुद्धको भव्य मूर्ति स्थापना गरिएको छ।
राजा शुद्धोधनको राजधानी प्राचीन कपिलवस्तु (तिलौराकोट)को प्रवेशद्वारका रूपमा चिनिने चोकमा चारैतिर मुख भएको बुद्धको मूर्ति राखिएको हो।
फाइबरबाट बनेको सुनौलो रंगको मूर्ति साढे १५ मिटर अग्लो र ५ क्विन्टल तौलको छ। प्रसिद्ध साहित्यकार भवानी भिक्षुको नाममा नामकरण गरिएको भिक्षु चोक दक्षिणतर्फबाट तिलौराकोट प्रवेश गर्ने मुख्य द्वार हो भने उत्तरतर्फबाट सदरमुकाम तौलिहवा प्रवेश गर्ने प्रमुख मार्गका रूपमा रहेको छ।
कपिलवस्तु नगरपालिकाले करिब ८० लाखको लागतमा उक्त चौमुखे गेट निर्माण गरेको नगर प्रमुख सुदीप पौडेलले बताए। चौमुखे गेटले प्राचीन कपिलवस्तुको ऐतिहासिकता झल्काउनुका साथै विश्वभर रहेका बौद्ध धर्मावलम्बीहरूका लागि आकर्षणको केन्द्र बन्ने नगर प्रमुख पौडेलको विश्वास छ।