बारेकोट गाउँपालिका–८ स्थित खारा जंगलमा आइतबार (१३ पुस) सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एकजनाको मृत्यु भएको घटनामा संलग्न आरोपमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार १३ पुस बिहान करिब ९ बजे खारा जंगलमा सिकार गर्न गएका समूहका ३६ वर्षीय प्रचण्डदेव सिंहलाई भरुवा बन्दुकको गोली लागेको थियो। घटनास्थलमै उनी मृत फेला परेका थिए। १४ पुस बिहान इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी निरीक्षक किरण सापकोटाको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनामा संलग्नहरूको खोजी गर्दा अवैध भरुवा बन्दुक लुकाइराखेको अवस्थामा फेला पारी बरामद गरेको जनाएको छ। सोही क्रममा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख वसन्तप्रसाद शर्माका अनुसार पक्राउ पर्नेहरूमा बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र ३१ वर्षीय लालबहादुर सिंह रहेका छन्।
प्रहरीले तीन नाल भरुवा बन्दुक, दुई थान फलामे चक्कु, १३५ ग्रामभन्दा बढी बारुदजस्तो देखिने पदार्थ, भरुवा बन्दुकमा प्रयोग हुने फलामका २१ टुक्रा र ‘अनारदाना’ लेखिएको डिब्बामा राखिएको केब ११ थान बरामद गरेको गरिएको छ। उनले भने, ‘घटनामा कर्तव्य ज्यान तथा हातहतियार तथा खरखजानासम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत जाजरकोटबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।’