कञ्चनपुर उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा जिल्लाकी एक मात्रै महिला उद्यमी चुनावी मैदानमा उत्रिएकी छिन् । संघको सदस्यका लागि महेन्द्रनगरकी महिला युवा उद्यमी सरिता भण्डारी (सिंह) एक्लै चुनावी मैदानमा उत्रिएकी हुन् ।
वाणिज्य संघको आउँदो शनिबार (१९ पुस)मा १८औँ कार्यकारिणी समितिका लागि निर्वाचन हुँदै छ । संघमा सबै पदहरू खुला छन् । सरिता पनि खुला पदमै होमिएकी हुन्। ६ पदाधिकारीहरूमा सर्वसम्मत भएसँगै महासचिवमा देखिएकी निर्मला भट्टले उम्मेदवारी नदिएको र खुला सदस्यमा उम्मेदवारी दर्ता गराएकी अर्की महिला उद्यमी पार्वती विष्टले फिर्ता लिएपछि सरिता अब एक्ली महिला उम्मेदवार भएकी हुन् । डालिमा सपिङकी सञ्चालिका सरिता १७ वर्षदेखि निरन्तर व्यवसायमा जुटेकी छिन् ।
कोषाध्यक्षसहित सदस्यतर्फ सहमति नभएपछि चुनावी मैदानमा होमिएकी सरिता अहिले मतदाता भेट्दै संघमा महिला प्रतिनिधित्वका लागि छलफल गर्दै मत मागिरहेकी छिन् ।
व्यवसायबाटै आत्मनिर्भर बनेकी सरिताले हरेक क्षेत्रमा महिला उद्यमी प्रवर्द्धन गर्नेदेखि संघको संस्थागत वृद्धि विकासका क्षेत्रमा काम गर्ने प्रतिज्ञा गरेकी छिन् । ‘मलाई सबैले सहयोग गर्नुहुन्छ भन्नेमा आशावादी छु,’ उनले भनिन, ‘म एक्लै महिला उम्मेदवार हो, संघमा महिला सहभागिता पनि हुनुपर्छ, यसमा सबै मतदाता जागरुक छन्।’
पहिलोपटक संघमा नेतृत्व लिन चाहेकी सरिताले व्यापार उद्योग क्षेत्रमा समेत महिला उद्यमीको आकर्षण गराउँदै स्वदेशमै सम्भावना खोज्ने बताइन् । संघमा देखिएका सबै उम्मेदवार पुरुष भएकाले जिल्लाका आमउद्योगी, व्यवसायीहरूले समेत एक मात्रै महिला उम्मेदवार भएकाले महिलाको प्रतिनिधित्वका लागि पनि सरितालाई जिताउनुपर्ने धारणा व्यक्त गरिरहेका छन् । संघमा कोषाध्यक्षका लागि दुई र सात सदस्यका लागि १३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।