- साबिक विजेता राहुल विश्वकर्माले प्रोफेसनल गल्फर भुवन रोक्काविरुद्ध सात स्ट्रोकको अग्रता बनाए
साविक विजेता राहुल विश्वकर्माले मंगलबार सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन शीर्ष स्थान बलियो बनाएका छन् । उनले दोस्रो स्थानमा रहेका प्रोफेसनल खेलाडी भुवनकुमार रोक्काविरुद्ध सात स्ट्रोकको अग्रता लिएका छन् । गोकर्ण गल्फ क्लबमा राहुलले ५ अन्डर ६७ को स्कोर बनाए । समग्रमा उनले ११ अन्डर १ सय ३३ को स्कोर गरेका छन् । भुवन समग्रमा ४ अन्डर १ सय ४० को नतिजामा दोस्रो स्थानमा उक्लिए । उनले दोस्रो दिन पाँच अन्डर ६७ स्कोर गरेका थिए । इभन पार ७२ स्कोरका साथ जयराम श्रेष्ठ तेस्रो स्थानमा झरेका छन् ।
उपाधि रक्षा गर्ने अभियानमा रहेका राहुलले फ्रन्ट नाइनमा ३ अन्डर ३३ खेलेका थिए । उनले दोस्रो, तेस्रो, पाँचौँ, सातौँ र नवौँ होलमा बर्डी प्रहार गरे । उनले चौथो र छैटौँ होलमा बोगी खेपे । यसपछि १०औँ, ११औंँ, १३औँ र १४औँ होलमा राहुलले एक सट बचाए । तर १५औँ र १६औँ होलमा लगातार दुई बोगी सामना गर्दा उनी ब्याक नाइन २ अन्डर ३४ स्कोरमा रोकिए । राहुललाई पछ्याइरहेका भुवनले फ्रन्ट नाइन २ अन्डर ३४ खेलेका थिए । उनले पहिलो, तेस्रो, पाँचौँ र आठौँ होलमा चार बर्डी प्रहार गरेका थिए । छैटौँ र सातौँ होलमा समान एक–एक सट खेर फालेका भुवनले त्यसपछि बोगीरहित ब्याक नाइन खेलेका थिए । उनले १२औँ, १६औँ र १८औँ होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन ३ अन्डर ३३ स्कोरमा खेल सकाए ।
लगातार तीन बर्डी
प्रोफेसनल गल्फर जयरामले फ्रन्ट नाइन १ अन्डर ३५ र ब्याक नाइन १ ओभर ३७ स्कोर गरेका थिए । तेस्रोदेखि पाँचौँ होलमा लगातार तीन बर्डी प्रहार गरेका उनले आठौँ होलमा डबल बोगी खेपे । त्यसपछि उनले १०औँ, १७औँ र १८औँ होलमा बर्डी प्रहार गरेका थिए । जयरामले ११औँ र १६औँ होलमा बोगी र १५औँ होलमा डबल बोगीको समाना गरे । समग्रमा १ ओभर १ सय ४५ स्कोर बनाएका भुवन नगरकोटी चौथो स्थानमा उक्लिएका थिए । उनले दोस्रो दिनको खेल इभन पार ७२ मा सकाएका छन् ।